आईसीसी ट्वान्टी–२० विश्वकपमा खराव ब्याटिङबाट गुज्रिएको नेपालले नेदरल्यान्ड्सविरुद्ध १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो ।
एक दशकपछि दोस्रो पटक टी२० विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको थियो । तर एसोसिएट क्रिकेटकै बलियो टोली नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ राम्रो हुन सकेन ।
चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपछि गतिलो साथ पाउन सकेनन् ।
लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे ।
नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।
