
काठमाडौं, साउन २१ गते।
काष्ठमण्डप विद्यालयको आयोजनामा दोस्रो क्युकेएस (क्वालिटी काठमाडौं स्कुल्स) अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको छ। काठमाडौं उपत्यकाका विभिन्न विद्यालयबीच खेलकुदमार्फत आपसी सम्बन्ध सुदृढ गर्ने, विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने तथा फुटसल खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनायको छ।

क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) को वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन भएको प्रतियोगितामा जुनियर ब्वाइज, सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी तीन विधामा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताको उद्घाटन काष्ठमण्डप विद्यालयका संस्थापक प्रिन्सिपल डा. शिवा थापा प्रमुख अतिथि तथा क्वालिटी काठमाडौं स्कुलकाअध्यक्ष एवं कान्जिरोवा नेशनल स्कुलका प्रिन्सिपल रञ्जित थापा ले रेफ्रीलाई बल हस्तान्तरण गर्दै औपचारिक रूपमा गरेका थिए।

उद्घाटनसँगै सुरु भएको प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ अन्तर्गत काष्ठमण्डप ‘ए’ ले त्रियोग विद्यालयलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गर्यो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि काष्ठमण्डपले अवसरको सदुपयोग गर्दै पहिलो तीन अंक आफ्नो पक्षमा पार्न सफल भयो।
सिनियर ब्वाइजतर्फ समूह ‘ए’ अन्तर्गत काष्ठमण्डप ‘ए’ र भक्तपुर निस्टबीच भएको खेल भने गोलरहित बराबरीमा सकियो। दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि उत्कृष्ट रक्षापंक्ति तथा गोलरक्षकको प्रदर्शनका कारण खेल बराबरीमा टुंगिएको थियो।

सिनियर गर्ल्सतर्फ काष्ठमण्डप र त्रियोगबीचको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको अर्को खेलमा त्रियोगले उत्कृष्ट प्रदर्शन गर्दै भक्तपुर निस्टलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो।
जुनियर ब्वाइजतर्फ त्रियोगले भक्तपुर निस्टलाई १–० ले पराजित गर्दै सुखद नतिजा हात पार्यो। यसै विधामा काष्ठमण्डपले भने शानदार प्रदर्शन गर्दै भक्तपुर निस्टलाई ६–० को एकपक्षीय नतिजा सुम्पियो। काष्ठमण्डपका खेलाडीहरूले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै विपक्षीलाई दबाबमा राखेका थिए।
सिनियर ब्वाइजतर्फ भक्तपुर निस्टले रोजबड विद्यालयलाई २–० ले पराजित गर्यो भने अर्को खेलमा काष्ठमण्डपले रोजबडमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनायो।
सिनियर गर्ल्सतर्फ काष्ठमण्डपले भक्तपुर निस्टलाई २–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो। दिनभर भएका खेलहरूमा विद्यार्थी खेलाडीहरूले अनुशासित, प्रतिस्पर्धात्मक र उच्चस्तरीय खेल प्रदर्शन गरेका थिए।
दिनको अन्तिम खेलमा जुनियर ब्वाइजतर्फ रोजबड र अक्षरा विद्यालयबीच भएको प्रतिस्पर्धा १–१ गोलको बराबरी मा टुंगियो। दुवै टोलीले जितका लागि अन्तिम समयसम्म संघर्ष गरे पनि अंक बाँड्न बाध्य भए।

आयोजक विद्यालयका ईसीए इन्चार्ज सुन्दर बुढाथोकी का अनुसार प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको बताए। प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १५ टोली, सिनियर ब्वाइजतर्फ १६ टोली तथा सिनियर गर्ल्सतर्फ १२ टोली को सहभागिता रहेको छ।
आयोजकले प्रतियोगिताले विद्यार्थीमा खेल संस्कृतिको विकास, नेतृत्व क्षमता अभिवृद्धि, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। साथै विभिन्न विद्यालयका विद्यार्थीबीच मित्रवत सम्बन्ध विस्तार गर्न पनि प्रतियोगिताले सकारात्मक योगदान पुग्ने अपेक्षा आयोजकले बताए।

प्रतियोगिता अगस्ट ६ देखि १४ तारिखसम्म सञ्चालन हुने र विभिन्न विधाका उत्कृष्ट टोली तथा खेलाडीलाई समापन समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिने ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले बताए।
