एरिका गुरुङ र दीपेन्द्रसिंह ऐरी वर्षका उत्कृष्ट खेलाडी घोषित

काठमाडौं, साउन २१ गते।
नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएका करातेकी स्टार एरिका गुरुङ र नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी वर्षका उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। खेलकुद पत्रकारिता क्षेत्रमा सक्रिय हाम्रो खेलकुद डटकमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित विशेष कार्यक्रममा एरिका र दीपेन्द्रलाई प्रतिष्ठित ‘वर्ष खेलाडी अवार्ड’ प्रदान गरेको हो।

पुरुषतर्फ वर्ष खेलाडी घोषित दीपेन्द्रसिंह ऐरी राष्ट्रिय टोलीको जिम्मेवारीका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएकाले उहाँको तर्फबाट नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले अवार्ड ग्रहण गर्नुभयो। महिला तथा पुरुष दुवै विधाका विजेताले नगद जनही २५ हजार रुपैयाँ सहित सम्मान प्राप्त गर्नुभएको थियो।

आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ तथा भाटभटेनी होल्डिङ्सका निर्देशक कल्याण गुरुङले विजेता खेलाडीलाई अवार्ड तथा सम्मान हस्तान्तरण गर्नुभयो।

विगत केही वर्षयता करातेमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिष्ठा बढाउँदै आउनुभएकी एरिका गुरुङ र क्रिकेटमा २० कप्तानका रूपमा उत्कृष्ट नेतृत्वसँगै प्रभावशाली प्रदर्शन गर्दै नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान दिँदै आउनुभएका दीपेन्द्रसिंह ऐरीको उपलब्धिको सम्मानस्वरूप यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

यस वर्षको अवार्ड समारोहअघि ‘हाम्रो खेलकुद कन्क्लेभ’ समेत आयोजना गरिएको थियो। कन्क्लेभमा नेपाली खेलकुदको वर्तमान अवस्था, चुनौती, सम्भावना, खेल पूर्वाधार, खेल पत्रकारिता तथा भविष्यका रणनीतिबारे विभिन्न क्षेत्रका खेलकर्मी, प्रशासक, प्रशिक्षक, खेलाडी र सरोकारवालाबीच व्यापक छलफल भएको थियो।

हाम्रो खेलकुद डटकमले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने खेलाडी तथा खेल व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। यस वर्ष पनि नेपाली खेलकुदमा उल्लेखनीय योगदान दिएका खेलाडीलाई सम्मान गर्दै उनीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यका साथ वर्ष खेलाडी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ