गल्फ संघद्वारा गल्फर सुवाश तामाङ र पत्रकार श्याम चित्रकार सम्मानित

नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पूर्व नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ र वरिष्ठ पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र नगद एक लाखसहित सम्मान गरेको हो । गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले २५ हजार गरी सुबाशलाई एक लाख प्रदान गरिएको  हो ।

पूर्व नेपाल नम्बर एक एमेच्योर खेलाडी तथा नेपाली गल्फको सर्वाधिक सफल गल्फर सुवाशले १३औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक दोहोरो स्वर्ण जितेका थिए । उनले बंगलादेश ओपनमा सद्भाव आचार्यसँग टिम तर्फ स्वर्ण र व्यक्तिगत स्पर्धामा रजत जितेका थिए ।

यसैगरी सुवाशले १२२औँ संस्करणको अल इन्डिया एमेच्योर ओपनको उपाधि जिते । उनी भारतमा प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली गल्फर बने । यही सफलताहरूको कदर गर्दै संघले सुवाशलाई सम्मान गरेको हो । सुवाशले यही वर्ष प्रोफेसनल करियरको सुरुवात गरेका छन् ।

यसैगरी वरिष्ठ पत्रकार श्याम चित्रकारलाई गल्फ खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नगद २५ हजारसहित सम्मान गरिएको छ ।

आजै नेपाल गल्फ संघको वार्षिक साधारण सभाले महासचिवमा दिपक आचार्य र सचिवमा श्रीराम भण्डारीलाई नियुक्त गरेको छ । संघको कार्यसमितिले प्रस्तुत गरेको मनोनयनको एजेन्डालाई साधारण सभाले पारित गर्दा आचार्य र भण्डारी नियुक्त भएका हुन् ।

यसैगरी साधारण सभाले महासचिव दिपक तथा कोषाध्यक्ष किसन अग्रवालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्‍यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ