नेपाल भलिबल संघको व्यवस्थापन तथा सहाना प्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला भलिबल च्याम्पियनसिप प्रतियोगिता असार ९ गतेदेखि हुने भएको छ ।
प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाक्री र भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार भलिबल संघले प्रतियोगिताको व्यवस्थापन गर्ने छ भने प्रतिष्ठानले आर्थिक पक्षमा सहयोग गर्ने छ । प्रतियोगितामा पुरुष-महिलामा सात प्रदेशबाट समान ७–७ टिम सहभागी हुने छन् । त्यसका लागि सातै प्रदेश भलिबल संघलाई टिम निर्माण गरी सहभागी गराउन आग्रह गर्ने अध्यक्ष चन्दले बताएका छन् । पुरुष-महिला दुवैमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधार खेल खेलाइने छ । पुरुष-महिला दुवैमा विजेताले ३ लाख, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट खेलाडीलाई २५-२५ हजार नगद पुरस्कार प्रदान गरिने छ । विधागत उत्कृष्टले समान १०–१० हजार नगद पुरस्कार पाउने छन् । साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ भने प्रतियोगिताका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान लगाईएको छ।
