काठमाडौं, बैशाख ३ गते ।
नेपाल स्क्वास एन्ड र्याकेट संघको आयोजनामा भइरहेको राष्ट्रिय जुनियर स्क्वास लिगमा विभिन्न उमेर समूहमा रोचक प्रतिस्पर्धा देखिएको छ।
बिहीबार भएको खेलमा यू–१९ छात्रतर्फ सरोज लामा, हेलिस घिन्सिङ र कृष श्रेष्ठ समान ३–३ म्याच जित्दै शीर्ष स्थानमा छन्। उनीहरूले हालसम्म अपराजित प्रदर्शन गरेका छन्। स्वयम् श्रेष्ठले सबैभन्दा बढी ५ खेल खेले पनि बराबरी सेटका कारण शीर्ष तीनभन्दा तल झरेका छन्। रेजन राज महर्जन र तियोगेश राई मध्यम स्थितिमा रहँदा आयुष थापा पुछारमा छन्।
त्यस्तै यू–१५ छात्रातर्फ नियुक्ति श्रेष्ठ उत्कृष्ट फर्ममा देखिएकी छन्। उनले सबै ५ खेल जित्दै अग्रता बनाएकी छन्। रेनासा महर्जन र रचना प्रजाले पनि राम्रो प्रदर्शन गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान ओगटेका छन्।
यू–१३ छात्रातर्फ भने डोल्मा तामाङ अपराजित रहँदै शीर्ष स्थानमा छिन् भने दिपिका महत दोस्रो स्थानमा छिन्।
