अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीलाई फेरि मोटरसाइकल पुरस्कार

काठमाडौं, साउन १८ गते।
ताप्लेजुङको प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप को चौथो संस्करणलाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर–एमभीपी) लाई मोटरसाइकल पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगिताको आयोजक लाखेजात्रा सञ्चालन समिति र बजाज कम्पनी बीच मोटरसाइकल प्रायोजनसम्बन्धी सम्झौता भएपछि उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पुरस्कार पाउने निश्चित भएको हो।

आगामी भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गर्दै आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन र बजाज कम्पनीका प्रमुख जर्नादन निरौला बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार बजाज कम्पनीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि एक थान मोटरसाइकल उपलब्ध गराउनेछ भने उक्त पुरस्कार लाखेजात्रा सञ्चालन समितिमार्फत प्रतियोगिता सम्पन्न भएपछि उत्कृष्ट खेलाडीलाई प्रदान गरिनेछ।

सम्झौतापछि बोल्दै आयोजक समितिका अध्यक्ष सागर मादेन ले उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको बताउनुभयो। उहाँका अनुसार प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउनुका साथै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उद्देश्यले आकर्षक पुरस्कारको व्यवस्था गरिएको हो। यस्ता पुरस्कारले प्रतियोगिताको स्तर उकास्नुका साथै प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने थप अवसर मिल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

गत वर्ष सम्पन्न प्रतियोगिताको तेस्रो संस्करणमा सलहेश फुटबल क्लब का छिरिङ गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै यामाहा कम्पनी को मोटरसाइकल पुरस्कार जित्न सफल भएका थिए। यस वर्ष बजाज कम्पनीले उक्त जिम्मेवारी लिँदै प्रतियोगिताको मुख्य व्यक्तिगत पुरस्कारलाई निरन्तरता दिएको हो।

सम्झौता कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष मणिशंकर पोमू, फुङलिङ नगरपालिका–४ का वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वा, लाखेजात्रा सञ्चालन समिति तथा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नारायण थापा लगायत बजाज कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले ताप्लेजुङ गोल्ड कपले जिल्लाको खेलकुद विकास, पर्यटन प्रवर्द्धन र युवा प्रतिभाको पहिचानमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेका थिए।

यस वर्षको प्रतियोगितामा ताप्लेजुङको प्रतिनिधित्व गर्ने एक टोलीसहित कुल आठ टोली ले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार नेपालका चर्चित क्लबका साथै आमन्त्रित टोलीहरूको सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख २ हजार ८२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। प्रतियोगिताका कोषाध्यक्ष दावा शेर्पा ले पुरस्कार राशिले प्रतियोगिताको गरिमा बढाउनुका साथै उत्कृष्ट क्लबहरूलाई सहभागी हुन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

ताप्लेजुङ गोल्ड कप केवल फुटबल प्रतियोगिता मात्र नभई जिल्लाको पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्र प्रवर्द्धनसँग समेत जोडिएको कार्यक्रमका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाइ छ। अध्यक्ष सागर मादेन का अनुसार यस वर्ष प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने कार्यक्रम पर्यटकीय दृष्टिले महत्वपूर्ण फक्ताङलुङ गाउँपालिका–७ स्थित समुद्री सतहदेखि करिब ५,३०० मिटर उचाइमा रहेको स्याम्दो पोखरी बाट गरिनेछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त क्षेत्रबाट प्रतियोगिताको औपचारिक सुरुआतसँगै ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश प्रवाह हुने विश्वास गरिएको छ।

गत वर्ष भने प्रतियोगिताको खेल तालिका प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर बाट सार्वजनिक गरिएको थियो। यस वर्ष नयाँ पर्यटकीय गन्तव्य छनोट गरेर खेलकुद र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने रणनीति अपनाइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार चौथो संस्करणको ताप्लेजुङ गोल्ड कप सञ्चालन गर्न करिब ९९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई व्यवस्थित, भव्य र अन्तर्राष्ट्रिय स्तरको बनाउन सरकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई निरन्तरता दिइएको समितिले जनाएको छ।

विगतका संस्करणहरूमा प्राप्त सफलतालाई आधार बनाउँदै यस वर्षको प्रतियोगिताले ताप्लेजुङलाई नेपाली फुटबलको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्नुका साथै स्थानीय पर्यटन, व्यापार, होटल व्यवसाय र खेल संस्कृतिको विकासमा समेत उल्लेखनीय योगदान पुर्‍याउने बिश्वाश आयोजकले लिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ