
काठमाडौं, साउन १८ गते।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को भ्रष्टाचारविरोधी न्यायाधिकरणले अमेरिकी क्रिकेटर बोदुगुम अखिलेश रेड्डीलाई क्रिकेटसँग सम्बन्धित सबै गतिविधिबाट आठ वर्षका लागि प्रतिबन्ध लगाएको छ। आबुधाबी टी–१० लिगका क्रममा म्याच फिक्सिङसँग सम्बन्धित विभिन्न भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको ठहर गर्दै न्यायाधिकरणले उनीमाथि कडा कारबाही गरेको हो।
आईसीसीका अनुसार अखिलेश रेड्डीलाई म्याच फिक्सिङको प्रयास गरेको, अन्य खेलाडीलाई खेलको नतिजा प्रभावित पार्ने उद्देश्यले फिक्सिङमा सहभागी हुन उक्साएको तथा अनुसन्धानलाई प्रभावित पार्ने उद्देश्यले प्रमाण नष्ट गरेको अभियोगमा दोषी ठहर गरिएको छ। यी कार्यहरू आईसीसीको भ्रष्टाचारविरोधी आचारसंहिताको गम्भीर उल्लंघन भएको निष्कर्ष न्यायाधिकरणले निकालेको हो।
उनीमाथि आचारसंहिताको धारा २.१.१ अन्तर्गत म्याच फिक्सिङको प्रयास, धारा २.१.४ अन्तर्गत अन्य खेलाडीलाई भ्रष्ट गतिविधिमा संलग्न गराउन प्रेरित गरेको तथा धारा २.४.७ अन्तर्गत अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न प्रमाण मेटाएको आरोप पुष्टि भएको हो। यी सबै आरोप प्रमाणित भएपछि न्यायाधिकरणले आठ वर्षको प्रतिबन्धको फैसला सुनाएको हो।
यस घटनाको अनुसन्धान इमिरेट्स क्रिकेट बोर्डले आबुधाबी टी–१० लिगका लागि नियुक्त गरेको आईसीसीको भ्रष्टाचारविरोधी इकाइ (एसीयू) ले गरेको थियो। अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाण, डिजिटल सामग्री तथा सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा अखिलेशविरुद्धको मुद्दा अघि बढाइएको बताइएको छ।
फिक्सिङको आरोप सार्वजनिक भएपछि अखिलेश रेड्डीलाई गत वर्ष नोभेम्बर महिनादेखि नै अस्थायी रूपमा निलम्बन गरिएको थियो। त्यसयता उनी कुनै पनि आधिकारिक क्रिकेट गतिविधिमा सहभागी भएका थिएनन्। लामो अनुसन्धान र सुनुवाइपछि अन्ततः न्यायाधिकरणले अन्तिम फैसला सुनाउँदै आठ वर्षको प्रतिबन्ध लगाएको हो।
अखिलेश रेड्डीले अमेरिकाको राष्ट्रिय टोलीबाट चार टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। ती खेलमा उनले एक विकेट लिएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा उनको अनुभव सीमित भए पनि भ्रष्टाचारसम्बन्धी गम्भीर आरोपमा दोषी ठहर भएसँगै उनको क्रिकेट करियरमा ठूलो धक्का लागेको छ।
आईसीसीले पछिल्ला वर्षहरूमा क्रिकेटलाई भ्रष्टाचारमुक्त राख्न विश्वभरका घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निगरानी बढाउँदै आएको छ। विशेषगरी छोटो अवधिका फ्रेन्चाइज प्रतियोगितामा हुने सम्भावित म्याच फिक्सिङ, स्पट फिक्सिङ तथा अन्य अवैध गतिविधिमाथि कडा निगरानी राख्दै दोषी ठहर हुने खेलाडी, प्रशिक्षक वा अन्य सम्बन्धित व्यक्तिमाथि कडा कारबाही गर्ने नीति अवलम्बन गर्दै आयको छ।