आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल भलिबल संघको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं, साउन १८ गते।
नेपाल भलिबल संघ (एनभीए) ले आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। संघले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँको वार्षिक बजेट संघ आफैंले विनियोजन गरेको जानकारी दिएको हो।

संघका पदाधिकारीका अनुसार उक्त बजेट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन, नेपालमा आयोजना हुने काभा प्रतियोगिता, राष्ट्रिय टोलीको तयारी, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, रेफ्री विकास, विद्यालयस्तरीय कार्यक्रम, फ्रेन्चाइज लिग सञ्चालन तथा भलिबल खेलको समग्र विकासमा खर्च गरिनेछ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको क्यालेन्डरअनुसार नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघ (काभा) अन्तर्गतका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ। काभा महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप (विश्व वरीयता अंकसहित) तथा काभा च्यालेन्ज कप (पुरुष) नेपालमै आयोजना हुने तय भएको छ।

यस्तै, जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोली सहभागी हुने कार्यक्रम पनि क्यालेन्डरमा समावेश गरिएको छ।

राष्ट्रिय प्रतियोगिताअन्तर्गत ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ। त्यसैगरी १०औँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप काठमाडौंमा हुनेछ। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग, सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बीच भलिबल, यू–१९ राष्ट्रिय भलिबल प्रतियोगिता, एभरेस्ट महिला भलिबल लिग तथा नेपाल भलिबल लिग पनि वार्षिक क्यालेन्डरमा समावेश गरिएका छन्।

त्यसैगरी यू–१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा प्रशिक्षक (कोच) कोर्स, मैत्रीपूर्ण खेल तथा थ्री नेसन्स कप आयोजना गर्ने कार्यक्रमसमेत सार्वजनिक गरिएको छ।

नेपाल भलिबल संघले सार्वजनिक गरेको वार्षिक क्यालेन्डर र संघको आफ्नै स्रोतबाट विनियोजन गरिएको २० करोड रुपैयाँको बजेट ले आगामी वर्ष नेपाली भलिबलको विकास, अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा खेलको व्यावसायिक विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बिस्वाश भलिबल संघले लिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ