काठमाडौं, बैशाख ३ गते ।
काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टी-१० लिगका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी खुशी डङ्गोल ‘फेस’ अफ कर्पोरेट टी-१० नियुक्त भएकी छन्। आज आयोजित एक औपचारिक कार्यक्रममा उनलाई ‘फेस’ अफ कर्पोरेट टी-१० घोषणा गरिएको हो।
खुशी डङ्गोलले सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी हुन्। उनले अगस्ट २०२३ मा नेपालको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन् । कुवेतविरुद्धको डेब्यु खेलमा उनले पहिलो बलमै विकेट लिएर विश्वकै चौथो तथा नेपालको पहिलो महिला खेलाडीको रूपमा इतिहास रचेकी थिइन्। उनले २०१९ को प्रधानमन्त्री कपमा एक रन पनि नदिई ५ विकेट लिएर ऐतिहासिक कीर्तिमान रचेकी थिइन्। हालसम्म उनले १० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन्।
कार्यक्रममा बोल्दै खुशी डङ्गोलले आफू ‘फेस’ अफ कर्पोरेट टी-१० बन्न पाउँदा निकै उत्साहित र गर्व महसुस भएको बताइन्। उनले यस्तो प्लेटफर्मले महिला खेलाडीहरूलाई थप अवसर प्रदान गर्ने र क्रिकेटमा महिलाको सहभागिता अझ सशक्त बन्ने विश्वास व्यक्त गरिन्। उनले कर्पोरेट टी-१० जस्ता लिगहरूले कार्यालयमा व्यस्त रहने कर्मचारीहरूलाई पनि खेलमार्फत रमाइलो र रिफ्रेस हुने अवसर प्रदान गर्ने बताइन्। उनले यसले कर्पोरेट क्षेत्र र क्रिकेटबिचको सम्बन्धलाई अझ मजबुत बनाउनेछ भन्ने विश्वास लिएकी छन्। साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई शुभकामना दिइन।
उक्त कार्यक्रममा काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.का निर्देशक ज्योति भण्डारीले खुशी डङ्गोललाई ‘फेस’ अफ कर्पोरेट टी-१० को रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे। उनले भने, “खुशीजस्तो प्रतिभाशाली खेलाडी हाम्रो लिगसँग जोडिनु हाम्रो लागि गर्वको विषय हो। उनको उपस्थितिले लिगमा अझ आकर्षण, ऊर्जा र प्रेरणा थप्नेछ।” उनले भविष्यमा महिला र पुरुष दुवैको समान सहभागितालाई प्राथमिकता दिने योजना रहेको पनि बताए।
कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।
