साफ यू–१९ महिला फुटबलमा बङ्गलादेशको सानदार सुरुवात, भुटानमाथि १२–० को फराकिलो जित

काठमाडौं, माघ १७ गते ।
पोखरामा पहिलो पटक आयोजना गरिएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्डर–१९ महिला फुटबल प्रतियोगितामा बङ्गलादेशले सानदार विजयी सुरुवात गरेको छ। शनिबार पोखरा रङ्गशालामा भएको खेलमा बङ्गलादेशले भुटानलाई १२–० गोलले पराजित गरेको हो।

खेलमा बङ्गलादेशकी खेलाडी मोस्ट मुन्की अक्तर, सिमोती तिर्सना रानी र अल्पी अक्तरले व्यक्तिगत ह्याट्रिक पूरा गरे। मोस्ट मुन्की अक्तरले खेलको ४४ औं, ४६ औं, ८१ औं र ९३ औं मिनेटमा गोल गर्दै ह्याट्रिकसहित चार गोल गरिन्।

सिमोती तिर्सना रानीले खेलको ४२ औं, ५४ औं र ५६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। अल्पी अक्तरले खेलको ७३ औं, ८६ औं र ९६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

खेलमा बङ्गलादेशकी टिम क्याप्टेन अर्पिता विश्वास र मामोनी चक्माले एक–एक गोल गरे। खेलको २८ औं मिनेटमा मामोनी चक्माले कर्नर बललाई पोस्टमा प्रहार गर्दा गोलमा परिणत भयो भने टिम क्याप्टेन विश्वासले खेलको ९४ औं मिनेटमा गोल गरिन्।

शनिबारको खेलमा बङ्गलादेशका खेलाडीहरूसामु भुटान निरीह देखियो। भुटानले बङ्गलादेशको पोस्टमा खासै आक्रमण गर्न सकेन। माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबार नै नेपाल र भारतबीच खेल हुँदैछ। नेपाल र भारतबीचको खेललाई उद्घाटन खेल भनिएको छ। प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ