
काठमाडौं, माघ १७ गते ।
आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ। भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार नेपालले ४८ रनको जित निकालेको हो। यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा पनि नेपालले सात विकेटको जित निकालेको थियो।
शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८३ रन बनायो। नेपालका लागि आरिफ शेखले अर्धशतक बनाए। उनले ४२ बल खेल्दै अविजित ६६ रन बनाए। सन्दीप जोराले २६ बलमा ३१ रन जोडे भने आशिफ शेखले २५, गुल्सन झाले २३ रन बनाए। लोकेश बमले १५ र बसिर अहमेदले ९ रन थपे।
१८४ रनको लक्ष्य पछ्याएको एमसिए प्रेसिडेन्ट–११ ले २० ओभरमा आठ विकेटको क्षतिमा १३८ रन मात्र बनाउन सक्यो। एमसिएका लागि मुलचन्दनीले सर्वाधिक ४७ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने ललित राजवंशी र गुल्सन झाले दुई–दुई विकेट लिए।
यसअघि शुक्रबार राति भएको पहिलो अभ्यास खेलमा १४३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको थियो। उक्त खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अविजित सर्वाधिक ५० रन बनाए भने कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले १६ रन बनाए।
पहिलो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको एमसिए प्रेसिडेन्ट–११ ले २० ओभरमा नौ विकेटको क्षतिमा १४२ रन बनाएको थियो। एमसिएका लागि सिद्धार्थ आकरेले सर्वाधिक २८ र परिक्षित वलसंकरले २७ रन बनाए। बलिङमा नेपालका नन्दन यादवले दुई तथा शेर मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा र कुशल भुर्तेलले एक–एक विकेट लिए।
अब विश्वकपअघि नेपालले चेन्नईमा फेब्रुअरी ३ मा संयुक्त अरब इमिरेट्स (युएई) र फेब्रुअरी ५ मा क्यानडासँग ‘वार्म अप’ खेल खेल्नेछ। भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा नेपालको अभियान फेब्रुअरी ८ मा इङ्ल्यान्डविरुद्ध खेल्दै सुरु हुनेछ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्।