
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरुको विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्वपुर्ण अवसर हुने बताउनु भएको छ । शुक्रबार नेपालगन्ज रंगशालाको निरीक्षण गर्ने क्रममा मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल सुरुआत हुने देशकै लागि खुसीको कुरा भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘नेपालमा अहिले खेलकुदको माहोल बनेको छ । त्यसमध्ये पनि महिला खेलाडीहरुले उत्कृष्ट नतिजा निकालिरहनु भएको छ । लुम्बिनी कप महिला फुटबल हुनु भनेको खुसीको कुरा हो ।’
मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल हुनु भएको लुम्बिनीवासीको लागि मात्र नभएर सम्पुर्ण देशबासीहरुको लागि सुखद कुरा भएको धारणा राख्नु भयो ।
उहाँले भन्नु भयो, ‘महिला खेलाडीको प्रगति उन्नतीको लागि भैरहेको लुम्बिनी कप महिला फुटबलको प्रतियोगिताको सफलताको शुभकामना दिन चाहन्छु । र आयोजकलाई यो प्रतियोगिता निरन्तर आयोजनालाई आग्रह गर्न चाहन्छु । अहिले खेलकुद प्रतियोगिता एक वर्ष हुने अर्को वर्ष नहुने भैरहेको छ । प्रतियोगिता आयोजना गर्न युवा तथा खेलकुद मन्त्रालयले के सहयोग गर्न सक्छ त्यसको लागि हामी तयार छौं ।’
लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशको फुटबललाई माथि उकास्न महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले प्रतियोगितालाई सफल बनाउन लुम्बिनी प्रदेशले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो