काठमाडौं, असार १२ गते ।
डल्लु आवास क्षेत्रमा रहेको भूकम्प स्मृति कभर्ड हलमा आजदेखि काठमाडौँ महानगर कप, वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाको आयोजना र नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगितामा महानगरपालिकाका २४ वटा वडाबाट ४२ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले प्रतियोगिता समुद्घाटन गरे । महानगरपालिकाले खेलका लागि ३० लाख रुपियाँ प्रदान गरेको छ । ६ लाख रुपियाँ सङ्घले व्यहोर्नेछ ।
लैङ्गिक समानता तथा सन्तुलित सहभागिता प्रवर्धन गर्न वडाहरूबाट २ जना पुरुष र २ जना महिला खेलाडीलाई सहभागी गराइएको छ । यसमध्ये १ जनाले पुरुष एकल विधामा १ जना महिलाले महिला एकलमा र १ जना पुरुष र १ जना महिलाले मिश्रित युगल समूहमा प्रतिस्पर्धा गर्ने छन्। खेल लिग कम नकआउट प्रणाली अनुसार खेलाइनेछ ।
३ खेलमा उत्कृष्ट (वेस्ट अफ थ्री)मा खेलाइने प्रत्येक खेललाई १५ अङ्क प्रदान हुनेछ । समग्र नतिजाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने वडालाई विजेता वडा ट्रफी प्रदान गरिनेछ । क्वाटर फाइनलसम्म पुग्ने र त्यस माथिको खेलमा प्रतिस्पर्धा गर्ने सबै खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
खेलमा पुरुष एकल र महिला एकलतर्फ प्रथम पुरस्कार ३२ हजार रुपैयाँ, दोस्रो पुरस्कार २० हजार रुपैयाँ, तेस्रो पुरस्कार १० हजार रुपैयाँ दुई जनालाई र पाँचौँदेखि आठौँ स्थान हासिल गर्ने खेलाडीलाई प्रति खेलाडी २ हजार ५ सय नगदसहित पुरस्कृत गरिनेछ ।
मिश्रित युगलाई प्रति टोली पहिलो पुरस्कार ४० हजार रुपैयाँ, दोस्रो ३० हजार रुपैयाँ तेस्रो १६ हजार रुपैयाँ २ टोलीलाई र पाँचौँ देखि आठौँसम्मको स्थान प्राप्त गर्ने टोलीलाई प्रति टोली ४ हजार नगदसहित पुरस्कृत गरिनेछ ।
