
काठमाडौं, पुस २१ गते ।
ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता आइतबारदेखि वडा ६ स्थित कनिवहालमा सुरु भएको छ ।
प्रतियोगिताको ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा यसपटक १ स्पर्धा थप गरी १७ स्पर्धामा खेल खेलाइने छ । खुला स्थानिय जनप्रतिनिधि विधा थपिएको हो ।
ललितपुर महानगरपालिकाका २९ वडा मध्ये २१ वडाबाट ६ सय १६ खेलाडी सहभागी छन् । ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा भइरहेको प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख २५ हजार रुपैयाँ रहेको छ । १७ वटै स्पर्धामा शीर्ष तीन स्थानमा रहेने खेलाडीले नगद पुरस्कार पाउने छन् ।
आयोजक वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले ललितपुर जिल्लाले उत्कृष्ट टेबलटेनिस खेलाडी उत्पादनमा राष्ट्रलाई योगदान गरिरहेको बताए । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट करिब २९ लाख रुपैयाँ रहेको छ ।
उद्घाटनका अवसरमा प्रदेश खेलुकद विकास परिषद् बागमती प्रदेशका सदस्य रवि महर्जन, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्षद्वय सुमन खड्गी र पूर्णशंकर श्रेष्ठ, कोषाध्यक्ष ज्याकी महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, प्राविधिक प्रमुख निकेश जोशी, टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपाली, विभिन्न वडाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । ललितपुर महानगरपालिको सहयोगमा भइरहेको रात्रीकालीन प्रतियोगिता पुस २६ गतेसम्म चल्ने छ ।