काठमाडौं, पुस ४ गते ।
ओलम्पिक २०२८, एसियन गेम्स २०२६ तथा डकार वर्ल्ड युथ गेम्स २०२६ मा सहभागी हुने नेपाली खेलाडीलाई छात्रवृत्ति प्रदान गरिएको छ। शुक्रबार नेपाल ओलम्पिक कमिटीले एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति प्रदान गरेको हो ।
अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८ का लागि ओलम्पिक स्कलरसिप पाउने खेलाडीहरूमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता प्रधान श्रेष्ठ, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोर्ट्स क्लाइम्बिङका तेन्जिङ राई र स्वीमिङका अर्विन श्रेष्ठ रहेका छन्। उक्त स्कलरसिपअन्तर्गत प्रत्येक खेलाडीले १,१२५ अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यस्तै जापानको आयची नागोयामा हुने एसियन गेम्सका लागि आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुष्मिता तामाङलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ ।
सेनेगलमा हुने डकार वर्ल्ड युथ गेम्स २०२६ का लागि उसुकी रश्मी तामाङलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ ।
नेपाल ओलम्पिक कमिटी, स्कलरसिप पाउने खेलाडी तथा सम्बन्धित संघका अध्यक्ष/महासचिवबीच ओलम्पिक स्कलरसिप सम्झौतामा हस्ताक्षर भएको छ।
ओलम्पिक सोलिडारिटी अन्तर्गत प्रदान गरिएको यो स्कलरसिप २०२५ सेप्टेम्बर १ देखि लागू हुनेछ र सम्बन्धित प्रतियोगिताको तयारीका लागि प्रयोग गरिनेछ।
स्कलरसिप प्राप्त गरेपछि टेबलटेनिस खेलाडी इभानाले यस कार्यक्रमबाट खेलाडीलाई थप राम्रो गर्न ऊर्जा प्राप्त हुने बताइन् ।
यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक, एसियन गेम्स र युथ ओलम्पिक गेम्समा स्कलरसिप पाएका खेलाडीलाई बधाई दिँदै राम्रो प्रदर्शन गर्नका लागि शुभकामना दिए ।
