
काठमाडौँ, मङ्सिर १४ गते ।
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले लिड्स युनाइटेडलाई ३-२ गोलअन्तरले हराएको हो ।
सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा जोस्को भार्डियलले १ गोल गरे । लिड्सका लागि डोमिनिक क्यालभर्ट लेविन र लुकास नेमेचाले १-१ गोल गरे हुन ।
खेलको पहिलो मिनेटमा नै फोडेनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । २५औं मिनेटमा भार्डियलले गोल गरेपछि सिटीलाई पहिलो हाफमा २-० ले अगाडि राखे भने दोस्रो हाफको ४९औं मिनेटमा क्यालभर्ट लेविन अनि ६८औ मिनेटमा नेमेचाले गोल गरेपछि लिड्स खेलमा फर्किएको थियो । इन्जुरी समयको पहिलो मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाएको हो ।
जितपछि १३ खेलमा २५ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ । ११ अंक भएको लिड्स १८औं स्थानमा छ ।
टोटनहमको हार
गएराति नै भएको अर्को खेलमा टोटनहमले भने हार बेहोरेको छ । घरेलु मैदानमै टोटनहम फूलहमसँग २-१ गोलअन्तरले पराजित भएको हो ।
खेलको चौथो मिनेटमा केनी टेटे र छैटौं मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि फूलहम २-० ले अगाडि बढेको थियो ।
दोस्रो हाफको ५९औं मिनेटमा मोहमद कुडुसले गोल फर्काए पनि टोटनहम त्यसपछि गोल गर्न सकेन ।
हारपछि टोटनहम १३ खेलमा १८ अंकसहित १०औं स्थानमा सीमित छ भने १७ अंक भएको फूलहम १५औं स्थानमारहेको छ ।