सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी (एनपिएल) को प्लेअफमा

काठमाडौँ, मङ्सिर १४ गते ।
सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो ।

पाँचौँ खेलसम्म जितको लय कायम राखेको सुदूरपश्चिम लिग चरणको दुई खेल अगावै प्लेअफमा पुगेको हो । जनकपुरलको निराशा भने अझै रोकिएको छैन ।

जितसँगै १० अङ्क बनाएको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ । लगातार चौथो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन । यस हारले तालिकाको अन्तिममा रहेको जनकपुरको अगाडि बढ्ने सम्भावना समाप्त भएको छ ।

जितका लागि १४६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरका चार विकेटको क्षतिमा एक सय ४८ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले । इशान पाण्डेले ३५ बलमा आठ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ५६ रन बनाए । यस्तै विनोद भण्डारीले ४२ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी १० र हर्मित सिंहले अविजित २५ रन बनाए ।

बलिङमा जनकपुरका माज सदाकतले दुई तथा सन्जय कृष्णमूर्ति र आदित्य महताले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो ।

जनकपुरका लागि कृष्णमूर्तिले अर्धशतकीय इनिङ्स खेले । कृष्णमूर्तिले ३८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५० रन बनाए ।
यस्तै जान निकोल लफ्टी इटोनले ३९, आदित्य महताले १५, ओपनर माज सदाकतले १० र कप्तान वेयन पर्नेलले १४ रन बनाए । जनकपुरले सुदूरपश्चिमविरुद्ध नियमित कप्तान अनिल शाहलाई आराम दिएर वेयनको कप्तानीमा खेलेको हो ।

बलिङमा सुदूरपश्चिमका अविनास बोहराले चार विकेट लिए । यस्तै स्कट कग्लेइजिनले तीन तथा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ