
काठमाडौँ, मङ्सिर ९ गते ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ५८ रनको लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५७ रन बनायो ।
काठमान्डुका लागि कप्तान करण केसीले सर्वाधिक अविजित ३४ रन बनाय । यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्ड कुमार र जेराल्ड इरसमसले समान १७/१७ तथा रसिद खानले १४ बनाय ।
बलिङमा लुम्बिनीका शेर मल्ल, कप्तान रोहित पौडेल, रुवेन ट्रम्पलम्यान र गुलवदिन नैबले दुई दुई विकेटलिएका हुन् ।
एनपिएलमा दुवै टोली आज दोस्रो जित निकाल्ने लक्ष्यमा रहेकाछन् । चौथो खेल खेलेको काठमान्डुले यसअघि तीन खेलमध्ये एक जित र दुई हार बेहोरेको छ ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्लाई पाँच विकेटले हराएको काठमान्डु त्यसपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो ।
यस्तै लिगमा तेस्रो खेल खेलेको लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भने लुम्बिनी कर्णाली याक्ससँग नौ विकेटले स्तब्ध बनेको थियो ।
लुम्बिनीलाई निरास बनाउन कर्णालीका मार्क वाटले जारी लिगकै पहिलो शतक बनाएका थिए । एनपिएलमा प्लेअफ पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई आजको जित महत्त्वपूर्ण हुने छ ।