सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित

काठमाडौँ, मङ्सिर ८ गते ।
बलिङ र ब्याटिङ दुवै विभागमा कप्तान दीपेन्द्रसिंह ऐरी को सर्वाङ्गीण प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफूलाई उत्कृष्ट दाबेदारका रूपमा पुनः पुष्टि गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्यो।

पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले निर्धारित २० ओभरमा १४० रनको सम्मानजनक योगफल खडा गर्यो। सुरुवाती चरणमै केही विकेट गुमाए पनि कप्तान ऐरीले संयमित तथा जिम्मेवारीपूर्ण पारी खेले। उनले पटक–पटक स्ट्राइक परिवर्तन गर्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याउने महत्वपूर्ण काम गरे। साथै, अन्तिम ओभरतिर उनले प्रहार गरेका केही प्रहारले टोलीको Run-rate समेत उकास्यो।

१४० रनको लक्ष्य पछ्याउन ओर्लिएको कर्णाली याक्स पावरप्लेबाटै दबाबमा पर्यो। सुदूरपश्चिमका बलरले लाइन–लेन्थमा निरन्तरता दिंदै कर्णालीका ब्याट्सम्यानलाई रन बनाउने अवसर नै नदिए। कप्तान ऐरीले बलिङमा पनि प्रभाव जमाउँदै महत्वपूर्ण समयमा विकेट निकालिरहे। उनले मध्यम ओभरमा विपक्षीको मुटु नै भाँच्ने गरि लगातार विकेट लिएपछि कर्णाली रन–रेट र दबाब दुवैमा कुचिन्यो।

कर्णालीले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९४ रनमा समेटिँदा, टोली प्रतियोगिताको दोस्रो संस्करणमा हालसम्मको सबैभन्दा कम रनमा अलआउट हुने टिम पनि बन्यो। कुनै पनि साझेदारी लामो समय टिक्न नसक्दा कर्णालीले खेलमा फर्किने अवसर गुमायो।

लगातार तेस्रो जितसँगै सुदूरपश्चिम रोयल्स अंक तालिकामा शीर्ष दाबेदारीका रूपमा उभिएको छ। उत्कृष्ट प्रदर्शन गरिरहेका कप्तान ऐरीले टिमलाई प्लेअफ नजिक पुर्‍याउने संकेत गरेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ