उषा र रविन भलिबल वर्ष खेलाडी चुनिए

नेपाल पुलिस क्लबका खेलाडीद्वय उषा भण्डारी र रविन चन्द भलिबलको उत्कृष्ट वर्ष खेलाडी भएका छन् । नेपाल भलिबल संघ (एनभीए) ले शुक्रबार आयोजना गरेको चौथो एनभीए अवार्डमा पुलिस क्लबको वर्चस्व रहेको थियो । वर्ष खेलाडी भएका उषा र रविनले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

वर्षका उदीयमान खेलाडी महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रगति नाथ र पुरुषतर्फ एपीएफ क्लबका हेमन्त मल्ल चुनिए । उनीहरूले पनि जनही ५० हजार पाए । वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघका रमेश केसी र महिलातर्फ नेपाल पुलिस क्लबका प्रशिक्षक रुपेशकुमार विष्टले पाए । उनीहरूले जनही ५० हजार पाए ।राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान तथा पुलिस क्लबका कप्तान इम रानालाई ५० हजार रुपैयाँसहित अभिनन्दन गरिएको थियो ।भलिबललाई निरन्तर प्रायोजन गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकका पूर्वसिइओ किरणकुमार श्रेष्ठलाई पनि अभिनन्दन गरिएको थियो । वर्षको उत्कृष्ट टिम महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ सम्मानित भयो ।

खेलकुद पत्रकार सम्मानबाट हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिना ५० हजार रुपैयाँसहित सम्मानित भए ।नेदरल्यान्ड्स भलिबल संघका अध्यक्ष पिटर स्प्रिङ्गरलाई पनि विशेष सम्मान गरिएको थियो ।सोही अवसरमा संघले वर्षभर उत्साहजनक काम गर्ने विभाग, जिल्ला, प्रदेश र क्लबहरूलाई पनि सम्मान गरेको थियो ।

संघले एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, संखुवासभा, कञ्चनपुर, सुर्खेत, म्याग्दी, पाल्पा जिल्ला संघ, जावलाखेल भलिबल प्रशिक्षण सेन्टर, ढोरपाटन भलिबल क्लब, टिपटप हेल्प नेपाल र एभरेस्ट भलिबल क्लबलाई पनि सम्मान गरेको छ ।यस्तै किंग्स क्लब, दाँवाली मिलन, केशवलाल स्मृति प्रतिष्ठान, शेरबहादुर स्मृति प्रतिष्ठान, मणिमुकुन्द भलिबल क्लब, न्यु डायमन्ड महिला भलिबल टिम, टाइगर ग्रुप अफ पोखरा र बूढानीलकण्ठ भलिबल क्लबलाई सम्मान गरिएको थियो ।


Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ