
काठमाडौं, कात्तिक २३ गते ।
नेपालका राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ताले दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटमा अम्पायरिङ गर्ने भएका छन्।
विश्वकप आगामी दिनहरूमा भारत र श्रीलंकामा हुँदैछ।
रबिन्द्र गुप्ता भोली भारत प्रस्थान गर्नुहुने छ । १४ नोभेम्बरमा श्रीलंका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
विश्वकपको उद्घाटन खेल नोभेम्बर ११ मा भारतको नयाँदिल्लीमा हुनेछ,
भने फाइनल खेल नोभेम्बर २३ मा श्रीलंकाको कोलोम्बोमा आयोजना हुनेछ।
दृष्टिविहीन विश्वकपमा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इङ्ल्याण्डले सहभागिता जनाउनेछन्।
रबिन्द्र गुप्ताले अम्पायरिङमार्फत नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।
गुप्ताले श्रीलंकामा हुने प्रतियोगिताअन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेलसहित विभिन्न खेलमा अम्पायरिङ गर्ने जिम्मेवारी पाएका छन्।
उनको भनाइमा, दृष्टिविहीन खेलमा निष्पक्ष निर्णय लिनका लागि आवाज, संकेत र विशेष नियमहरूको प्रयोग गरिन्छ,
र त्यसका लागि उनी लामो समयदेखि तालिम र तयारीमा संलग्न हुँदै आएका छन्।
नेपालमा दृष्टिविहीन क्रिकेटको विकास क्रमशः अघि बढ्दै गर्दा,
गुप्ताको अन्तर्राष्ट्रिय सहभागिता यस क्षेत्रका खेलाडी र खेलकर्मीका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ।
उनी यसअघि विभिन्न राष्ट्रिय प्रतियोगिता र नेत्रहीन खेलकुदका म्याचहरूमा पनि अम्पायरिङ गरिसकेका छन्।
यस सहभागितासँगै, रबिन्द्र गुप्ता दृष्टिविहीन खेलमा अम्पायरिङ गर्ने नेपालका पहिलो अम्पायर बन्ने इतिहास रच्ने भएका छन्।
उनले विश्वकपमा राम्रो प्रदर्शन गरेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उज्यालो बनाउने विश्वास व्यक्त गरेका छन्।