
काठमाडौं, कात्तिक २३ गते ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि विराटनगर किङ्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सीमा कोशी प्रदेशको गौरव, एकता र समुदायको भावनालाई केन्द्रविन्दु बनाइएको क्लबले जनाएको छ।
क्लबका अनुसार, जर्सीमा रहेको सप्तकोशी नदीका सात शाखालाई प्रतीकात्मक रूपमा सात रेखामार्फत प्रस्तुत गरिएको छ, जसले एकता, शक्ति र गतिशीलताको प्रतिनिधित्व गर्छ।
त्यस्तै, डिजाइनमा प्रयोग गरिएको त्रिकोणीय प्याटर्नले साहस र दृढता, र काँधमा रहेको एपाउलेट ले नेतृत्व र गर्वलाई झल्काउँछ।

“द जर्सी: द क्राउन वी अर्न” भन्ने थिममा तयार गरिएको यो पोशाकलाई क्लबले खेलाडीहरूका लागि कवचजस्तै, र समर्थकहरूका लागि आशा र गौरवको ध्वजाका रूपमा परिभाषित गरेको छ।
क्लबका प्रवक्ताका अनुसार, “यो केवल खेल पोशाक होइन, यो हाम्रो पहिचान र कोशी प्रदेशको आत्मा हो।”
विदेशी सितारासँग विराटनगर तयार
कोशी प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली विराटनगर किङ्सले यसपटक पनि बलियो टिम उतार्ने तयारी गरेको छ।
टोलीले दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसी, स्कटल्यान्डका जर्ज मन्से, अस्ट्रेलियाका साम हिजलेट, न्युजिल्यान्डका मार्टिन गप्टिल र दक्षिण अफ्रिकाका मर्चेन्ट डे लाङलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
त्यस्तै, मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई क्लबले रिटेन गरेको छ।
अक्सनमार्फत सूर्य तामाङ, साहिल पटेल र नारायण जोशीलाई अनुबन्ध गरिएको छ भने विश लिस्टबाट शर्वन किस्कु र शंकर राना टोलीमा भित्र्याइएको छ।
मंसिर १ देखि सुरु हुँदै एनपीएलको दोस्रो संस्करण
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ।
यस संस्करणमा देशका विभिन्न प्रदेशका फ्रेन्चाइज टिमहरूबीच प्रतिस्पर्धा हुनेछन्।
विराटनगर किङ्सले नयाँ जर्सीसँगै यस वर्ष पनि कोशी प्रदेशको गौरवलाई मैदानमा उतार्ने लक्ष्य लिएको जनाएको छ।
