
काठमाडौं,कात्तिक १७ गते ।
नेपाल प्रहरीका निरीक्षक रविन्द्र चन्द भारतमा आयोजना हुने ‘आइरन म्यान ७०.३’ ट्रायथलन प्रतियोगितामा सहभागी हुने भएका छन्। उनी यस प्रतिस्पर्धामा नेपाल र नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै सहभागी हुँदैछन्।

प्रतियोगिता भारतको गोवा राज्यको मिरामार बीचमा हुने भएको हो। विश्वस्तरको यो इभेन्टको कुल दूरी ११३ किलोमिटर रहनेछ, जसमा १.९ किलोमिटर पौडी, ९० किलोमिटर साइक्लिङ र २१.१ किलोमिटर दौड समावेश छन्।
हाल निरीक्षक चन्द नेपाल प्रहरी शिक्षालय, भरतपुर (चितवन)मा कार्यरत छन्। उनी नेपाल प्रहरीमा सेवा दिँदै खेलकुदका क्षेत्रमा समेत सक्रिय छन्।
प्रस्थानअघि नेपाल ट्रायथलन संघले काठमाडौँमा विशेष विदाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्ष तथा पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायतको उपस्थितिमा निरीक्षक चन्दलाई ट्रिसुट र साइकल हस्तान्तरण गरिएको थियो।
संघका पदाधिकारीहरूले चन्दको सफलताको शुभकामना दिँदै उक्त सहभागिता नेपालको खेलकुद र प्रहरी संस्थाको गौरवको विषय हुने विश्वास व्यक्त गरे।
