
काठमाडौं, कात्तिक १७ गते ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने एन्फा प्रेसिडेन्ट लिग यही कात्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म मकवानपुरको गौरीटार रंगशाला, हेटौँडा–६ मा आयोजना हुने भएको छ।

एन्फाको फुटबल विकास कार्यक्रमअन्तर्गत देशभरका जिल्ला लिग च्याम्पियन र प्रदेश लिगबाट छनोट भएका १० टिम प्रतियोगितामा सहभागी हुनेछन्। सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग–कम–नकआउट प्रारूपमा खेलाइने एन्फाले जनाएको छ।
प्रत्येक समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलमा पुगेका चार टोलीले यसै वर्ष हुने राष्ट्रिय लिगमा सहभागिता जनाउने अवसर पाउनेछन्। प्रतियोगिताको स्थानीय संयोजक मकवानपुर जिल्ला फुटबल संघ रहनेछ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद र ट्रफी, उपविजेताले ५ लाख नगद, र फेयर प्ले टिमले ५० हजार नगद पुरस्कार पाउनेछन्।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उच्च स्कोरर र उत्कृष्ट गोलरक्षकलाई २५ हजार–२५ हजार, र प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
सहभागी टोलीहरूलाई ७ लाख रुपैयाँ तयारी खर्च दिइने एन्फाले जनाएको छ। प्रतियोगिताको कुल बजेट १ करोड ५४ लाख ५४ हजार ४२५ रुपैयाँ रहेको छ।
यस संस्करणको एन्फा प्रेसिडेन्ट लिगमा सहभागी क्लबहरू हुन् —
गाईघाट फुटबल क्लब (उदयपुर), जन जागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काकेविहार युथ क्लब (सुर्खेत), नव जाग्रिती क्लब (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाथली (दोलखा) र लालीगुराँस एशोसिएसन क्लब (कास्की रहेकाछन्।
