नेपाललाई चार विकेटले हरायो नेपालको लगातार तेस्रो हार

काठमाडौं, कार्त्तिक १५ गते।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो, जसले नेपाली क्रिकेट प्रेमीमा निराशा थपेको छ।

नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो। दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन मात्र बनाउन सक्यो। दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको अर्धशतक बनाए भने करण केसीले अन्त्यतिर आक्रामक खेल प्रदर्शन गर्दै ३१ बलमा ४९ रन जोडे। कुशल भुर्तेलले ४७ र भीम सार्कीले ४३ रन बनाए। कप्तान रोहित पौडेलले पनि ३६ रनको योगदान दिए।

नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले सजिलै ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले ७५ रन बनाए भने मिलिन्द कुमारले ७० रन, शयान जहागिरले ३६ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५३ रन खर्च गर्दै ३ विकेट लिए। नन्दन यादव, करण केसी र गुल्शन झाले १-१ विकेट लिए।

अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन खर्च गर्दै ३ विकेट लिए। सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २-२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १-१ विकेट लिए।

यस जीतसहित अमेरिका लगातार तेस्रो जित हासिल गर्दै लिग तालिकाको शीर्ष स्थानमा कायम रह्यो। अमेरिकाले २३ खेलबाट ३४ अंक संकलन गरेको छ। नेपाल भने १९ खेलमा १२ अंकसहित सातौं स्थानमै सीमित रह्यो।

जारी शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनले हार भोगेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो। लगातारको हारले नेपालका खेलाडी र समर्थकमा चिन्ता बढाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ