
काठमाडौं,कात्तिक १४ गते ।
भारतको राँचीमा सम्पन्न चौथो दक्षिण एसियाली सिनियर एथ्लेटिक्स च्याम्पियनसिप–२०२५ मा पदक जित्न सफल नेपाली खेलाडीलाई नेपाल एथ्लेटिक्स संघले नगदसहित सम्मान गरेको छ।
संघले शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्दै विभिन्न विधामा पदक जितेका सात जना खेलाडीलाई सम्मान गरेको हो। तीन दिनसम्म (कात्तिक ६ देखि ८ गतेसम्म) भारतको झारखण्डस्थित राँचीमा चलेको प्रतियोगितामा नेपालले दुई रजत र चार कांस्यसहित कुल छ पदक हात पारेको थियो। यस सफलतासँगै नेपाल तेस्रो स्थानमा उक्लिन सफल भयो।
छ देश सहभागी उक्त प्रतियोगितामा नेपालका तर्फबाट राजन रोकाया र सोमबहादुर कुमालले क्रमशः पुरुष १०,००० मिटर र ८०० मिटर दौडमा रजत पदक जित्न सफल भए। दुबै रजत पदक विजेतालाई संघले जनही रु. २५,००० का दरले नगद प्रदान गर्यो।
महिला तर्फ, सन्तोषी श्रेष्ठले ५,००० र १०,००० मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै स्पर्धामा कांस्य पदक जितिन्। उनले दुई कांस्यसहित रु. ३०,००० प्राप्त गरिन्। उल्लेखनीय कुरा के भने सन्तोषीले यी दुवै दूरीमा कान्छी माया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न सफल भइन्।
यस्तै पुरुष ५,००० मिटर दौडमा मुकेश बहादुर पालले कांस्य जिते र रु. १५,००० पुरस्कार प्राप्त गरे।
मिक्स रिलेको इभेन्टमा सोमबहादुर कुमाल, रामप्रसाद थारु, जयरानी थारु र रमिता थारु सम्मिलित नेपाली टोलीले कांस्य पदक जित्दै गौरव थप्यो। मिक्स रिलेको प्रत्येक खेलाडीलाई जनही रु. १०,००० का दरले नगद पुरस्कार प्रदान गरियो।
यसरी व्यक्तिगत रजत र मिक्स रिलेमा कांस्य जितेका सोमबहादुर कुमालले कुल रु. ३५,००० प्राप्त गरे।
कार्यक्रममा संघका पदाधिकारीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीले देखाएको प्रदर्शनप्रति गर्व व्यक्त गर्दै भने,
“पदक जित्ने खेलाडीका लागि सम्मान रकम सानो भए पनि यो खेलाडीको उत्साह र प्रेरणाको प्रतीक हो। संघ आगामी दिनमा अझ व्यवस्थित पुरस्कार प्रणाली ल्याउने प्रतिबद्धता जनाउँछ।”
नेपालले पछिल्ला वर्षहरूमा एथ्लेटिक्स क्षेत्रमा निरन्तर प्रगति गरिरहेको छ। दक्षिण एसियाली स्तरमा नेपालले देखाएको प्रदर्शनले भविष्यमा अझ उच्च सफलता प्राप्त गर्ने सम्भावनाको सङ्केत दिएको संघले जनाएको छ।
