एन्फाले महासचिव किरण राईको निलम्बनबारे जानकारी नभएको स्पष्ट पारेको छ

काठमाडौं,कात्तिक ३ गते।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईलाई निलम्बन गरिएको विषयमा संघको सचिवालयमा कुनै आधिकारिक जानकारी नभएको स्पष्ट पारेको छ।

आइतबार कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव राईलाई पदबाट निलम्बन गरेको समाचार सार्वजनिक भएपछि एन्फाले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

एन्फाका प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ:

“एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले एन्फा महासचिव किरण राईलाई स्पष्टिकरण माग गरिएको भनि विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको र मिति २०८२-०७-०२ मा पुनः वरिष्ठ उपाध्यक्षले महासचिवलाई निलम्बन गरिएको भनेर प्रकाशन भएको समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। प्रस्तुत विषयहरूको सन्दर्भमा एन्फा सचिवालयलाई कुनै आधिकारिक जानकारी समेत नभएको र उक्त दुवै पत्रहरू एन्फा कार्यालयबाट प्रेषित नभएको साथै उक्त पत्र दर्ता, चलानी वा संस्थाको छाप संघको आधिकारिक नभएको जानकारी गराउँदछौं।”

यसअघि कार्यवाहक अध्यक्ष खड्काले महासचिव राईलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेका थिए। जवाफ प्राप्त नभएको कारण उनले राईको नाममा पत्र काटेर अर्को कार्यसमिति बैठकसम्म निलम्बन गरेको बताइएको छ।

केही दिनअघि खड्काले पत्रकार सम्मेलन गरी एन्फामा अर्ली इलेक्सनको मागसहित वर्तमान नेतृत्वलाई जिम्मेवारी छोड्न पनि आग्रह गरेका थिए।

यस घटनाले नेपाली फुटबल नेतृत्व र एन्फाभित्रको गतिविधि सम्बन्धी चासो बढाएको छ। संघले यस विषयमा थप स्पष्टिकरण आवश्यक देखिएमा आगामी दिनमा औपचारिक रुपमा सूचना दिने जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ