
३ कात्तिक, नेपालगन्ज।
नेपालगन्ज स्विमिङ क्लब बाँकेले राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले आगामी कात्तिक १४ र १५ गते दोश्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ आयोजना गर्ने जनाएको छ।
प्रतियोगिता नेपालगन्ज रंगशालामा स्थित पौडी पोखरीमा सम्पन्न हुने छ। क्लबका अध्यक्ष केशवराज न्यौपानेका अनुसार यस प्रतियोगितामा देशभरका ८ वर्षदेखि खुला उमेर समूहसम्मका खेलाडीहरू ५६ विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगिता विशेषगरी विद्यालयहरूलाई लक्षित गर्दै आयोजना गरिएको छ। यसमा ८, १०, १२, १४, १७ वर्षका उमेर समूहसँगै खुला उमेर समूहबीच प्रतिस्पर्धा हुनेछन्। कुनै पनि संघ–संस्था वा क्लबले संस्थागत रूपमा पनि प्रतियोगितामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

इभेन्टको विवरण:
अन्डर–८ उमेर समूह: २५ मिटर दूरी
अन्डर–१० उमेर समूह: ५० मिटर दूरी
अन्डर–१२ र अन्डर–१४ उमेर समूह: ५० र १०० मिटर दूरी
खुला उमेर समूह: २०० र ४०० मिटर दूरी
कुल मिलाएर ५६ इभेन्ट आयोजना गरिनेछ, जसले देशभरका युवा पौडी खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नेछ। नेपालगन्ज स्विमिङ क्लबले प्रतियोगितामार्फत देशभरका खेलाडीहरूलाई नयाँ प्रतिभा प्रकट गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
