विराटनगर किंग्सले ‘पूर्वेली राजा’ अर्ना मस्कट सार्वजनिक गर्‍यो

काठमाडौं, कात्तिक ३ गते ।
नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विराटनगर किंग्सले आफ्नो नयाँ मस्कट ‘पूर्वेली राजा’ नामक अर्ना सार्वजनिक गरेको छ। टिमका अनुसार यो मस्कटले टिमको पहिचान र पूर्वी क्षेत्रको गौरवलाई एकसाथ प्रतिबिम्बित गर्छ।

लोपोन्मुख अवस्थामा रहेका अर्ना कोसी क्षेत्रका रैथाने जनावर हुन्। विराटनगर किंग्सले अर्नालाई मस्कटको रूपमा चयन गरेर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रतिको सम्मान र संरक्षण सन्देश दिन खोजेको जनाएको छ।

क्लबका प्रतिनिधिहरूका अनुसार अर्नाको ‘पूर्वेली राजा’ नामले कोसी प्रदेशको गौरव र विराटनगरको नेतृत्व क्षमतालाई अभिव्यक्त गर्छ। मस्कटले टिमलाई ‘पूर्वको राजा’का रूपमा चिनाउने उद्देश्य राखिएको छ।

अर्नाको उपस्थितिले शक्ति, सौन्दर्य र दृढ संकल्पको प्रतीकको रूपमा टिम र समर्थकबीच आत्मगौरवको भावना बढाउने विश्वास गरिएको छ। यस मस्कटमार्फत क्लबले दुर्लभ जनावरको संरक्षणमा जनचेतना फैलाउने प्रयाससमेत गरेको बताइएको छ।

विराटनगर किंग्सले एनपीएलका तयारी तीव्र रूपमा अघि बढाइरहेको छ। मस्कट सार्वजनिकसँगै क्लबले आफ्नो पहिचानलाई अझ सशक्त बनाएको र आगामी सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ