अष्ट्रेलियाका ग्रान्डमास्टर स्मेरडोनले जिते नेपालभाषा मंकाः खलः फिडे रापिड चेस उपाधि

काठमाडौं, कात्तिक ३ गते ।

नेपाल सम्बत् ११४६ को अवसरमा न्हूदँ मूल समारोह समितिको आयोजनामा सम्पन्न दुई दिने खुल्ला चेस प्रतियोगितामा अष्ट्रेलियाका ग्रान्डमास्टर स्मेरडोनले पहिलो स्थान हासिल गरेका छन्। २५४१ रेटेड स्मेरडोनले ९ चरणको रापिड प्रतियोगितामा सात जित र दुई खेलमा बराबरी गर्दै ८ अंक जोडेर उपाधि आफ्नो नाम गरेका हुन्।

विश्व स्तरका खेलाडी स्मेरडोनले यसैसँगै चौंथो नेपालभाषा मंकाः खलः फिडे रापिड प्रतियोगिताको इतिहासमा आफ्नो पहिलो उपाधि दर्ता गराउँदै नगद रु. १० हजार, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा समान ७ अंक जोडेका तीन खेलाडीमध्ये क्याण्डिडेट मास्टर पुरुषोत्तम सिलवाल द्वितीय स्थानमा उभिन सफल भए। २१९८ रेटेड पुरुषोत्तमले छ जित, दुई बराबरी र एक हारसहित नगद रु. ७ हजार र सिल्भर मेडल प्राप्त गरे। रसियामा सुपर GM लाई पराजित गरी ऐतिहासिक उपलब्धि हासिल गरेका सिलवालले यहाँ पनि उत्कृष्ट खेल प्रदर्शन गरेका हुन्।

त्यस्तै, १९९१ रेटेड निकेन कुसाथाले GM स्मेरडोनसँग उत्कृष्ट खेल प्रदर्शन गर्दै बराबरी नतिजा निकाले र सात अंक जोड्दै नगद रु. ५ हजार र ब्रोन्ज मेडल जिते। ललितपुरका राजु ताम्राकारले अन्तिम चरणमा कठिन जित निकाल्दै दोलखाका १७६६ रेटेड सुमन मोक्तान चौथो स्थानमा उभिन सफल भए र साढे छ अंकसहित नगद रु. ४ हजार पुरस्कार पाए।

प्रतियोगितामा पाँचौंदेखि आठौं स्थानसम्म आएका खेलाडीहरूमा २०२८ रेटेड सुरोज महर्जन, १७४५ रेटेड प्रेम खड्का, १८७६ रेटेड पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, १७१८ रेटेड रचित राज लम्साल र १९०४ रेटेड अभिषेक श्रेष्ठले नगद पुरस्कार वितरण पाएका छन्। यस्तै, ६ अंक प्रोग्रेसिभ प्वाइन्टको आधारमा १९०४ रेटेड शुभनदीप थापा उत्कृष्ट दशौं स्थानमा रहे।

महिला प्रतिस्पर्धामा ग्लोसि श्रेष्ठ प्रथम भइ नगद रु. ५ हजार प्राप्त गरे भने रिया श्रेष्ठ द्वितीय भई नगद रु. ४ हजार जितिन्। भारतीय खेलाडी गीताञ्जली कुमारी तृतीय भई नगद रु. ३ हजार पुरस्कार प्राप्त गरिन्। स्थानीय खेलाडीमध्ये ललितपुरका अशोक मोहन श्रेष्ठ प्रथम र राजु ताम्राकार द्वितीय भए।

नेपालभाषा मंकाः खलः यल र ललितपुर स्पोर्ट्स क्लबको संयोजनमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा ललितपुर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरे। प्रतियोगितामा नेपाल, भारत र अष्ट्रेलियाबाट ७८ खेलाडी सहभागी भएका थिए।

समापन समारोहमा लुम्बिनी विश्वविद्यालयका डिन माणिक रत्न शाक्यले आगामी दिनमा लुम्बिनीमा बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराए। साथै, पुरस्कार वितरण कार्यक्रममा करातेका सिनियर प्रशिक्षक निवास गोपाल वैद्य, ललितपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष विक्रम श्रेष्ठ र कोषाध्यक्ष रन्जन घोषाल उपस्थित थिए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ