
काठमाडौं, असोज २९ गते।
एएफसी यू–१७ महिला एसियन कप छनोटको सुरुवाती खेलमा नेपालले तुर्कमेनिस्तानसँग गोलरहित बराबरी खेलेको छ। समूह ‘एफ’ अन्तर्गत थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी स्टेडियममा बुधबार सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न असफल भएपछि अंक बाँडेको हो।

पहिलो खेलमै जितको खोजीमा रहेको नेपालले खेलमा बल पजेसन र आक्रमणमा दबदबा जमाए पनि निर्णायक फिनिशिङमा कमजोर रह्यो। तुर्कमेनिस्तानकी गोलकिपर एलनुरा माक्सयुतोभाले नेपालका धेरै प्रयासहरू रोकेपछि खेल बराबरीमा टुङ्गिएको हो।
बराबरीसँगै नेपालका लागि अन्तिम चरणमा पुग्ने सम्भावना जटिल बनेको छ। अब नेपालले शुक्रबार समूहको दोस्रो खेल आयोजक थाइल्याण्डसँग खेल्नेछ। थाइल्याण्डले यसअघि पहिलो खेलमै तुर्कमेनिस्तानलाई १७–० को विशाल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुगेको थियो।
हाल समूह ‘एफ’ को अंक तालिकामा थाइल्याण्ड ३ अंकसहित अग्रस्थानमा छ, जबकि नेपाल १ अंकका साथ दोस्रो स्थानमा छ। दुई खेल खेलिसकेको तुर्कमेनिस्तान १ अंकमै सीमित रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले अन्तिम चरणमा स्थान सुरक्षित गर्नका लागि शुक्रबारको खेलमा थाइल्याण्डलाई हराउनै पर्नेछ।
