
काठमाडौं, असोज २८ गते ।
वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेस्ट शृङ्खलामा भारतले क्लिन स्वीप गर्दै घरेलु मैदानमा विजयी यात्रा जारी राखेको छ।
दिल्लीको अरुण जेटली स्टेडियममा सम्पन्न दोस्रो टेस्टमा भारतले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो।
वेस्ट इन्डिजले दिएको १ सय २१ रनको लक्ष्य भारतले पाँचौं दिनको पहिलो सेसनमै तीन विकेट गुमाएर भेटायो। भारतका ओपनर केएल राहुलले ५८ रनको सशक्त योगदान दिए भने साई सुदर्शनले ३९ रन जोडे। बलिङतर्फ पाहुना टोलीका रोस्टन चेसले २ विकेट लिए।
यसअघि भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ५ सय १८ रन बनाएर पारी घोषणा गरेको थियो। भारतका यशस्वी जायसवालले प्रभावशाली १ सय ७५ रन, कप्तान शुभमन गिलले १ सय २९ रन र साई सुदर्शनले ८७ रनको योगदान दिए। वेस्ट इन्डिजका जोमेल वारिकनले ३ विकेट लिए।
वेस्ट इन्डिज पहिलो पारीमा २ सय ४८ रनमा समेटिएको थियो। पाहुना टोलीका एलिक एथानाजेले ४१ रन, शाई होपले ३६ रन र टगेननारायण चन्द्रपाउलले ३४ रन जोडे। भारतका स्पिनर कुलदीप यादवले ५ विकेट र रविन्द्र जडेजाले ३ विकेट लिए।
फलोअनमा खेलेको वेस्ट इन्डिजले दोस्रो पारीमा राम्रो प्रदर्शन गर्दै ३ सय ९० रन बनायो। जोन क्याम्पबेलले १ सय १५ र शाई होपले १ सय ३ रनको उत्कृष्ट प्रदर्शन गरे। तर भारतका बलरहरूले अन्तिममा लय फिर्ता ल्याउँदै पाहुना टोलीलाई रोक्न सफल भए। कुलदीप यादव र जसप्रीत बुमराहले समान ३–३ विकेट लिए।
यसअघि अहमदाबादमा भएको पहिलो टेस्ट भारतले एक इनिङ्स र १ सय ४० रनले जितेको थियो। योसँगै शुभमन गिलले कप्तानका रूपमा आफ्नो पहिलो टेस्ट सिरिज जितेका छन्।
भारतले अघिल्लो टेस्ट सिरिजमा इङ्ग्ल्यान्डसँग २–२ को बराबरी खेलेको थियो। वेस्ट इन्डिजविरुद्धको यो क्लिन स्वीपले गिलको कप्तानीमा भारतीय टोलीको नयाँ युगको सुरुवात गरेको विश्लेषण गरिँदैछ।