
काठमाडौं, असोज २८ गते ।
नेपाल फुटबल खेलाडी संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग पुनः अन्योलमा परेपछि तीव्र असन्तुष्टि जनाएको छ। संघले लिग पुनः स्थगित वा परिवर्तन भएको खण्डमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण अवस्थाको जिम्मेवारी आखिल नेपाल फुटबल संघ (एन्फा) ले लिनुपर्ने चेतावनी दिएको हो।
मंगलबार एक विज्ञप्ति जारी गर्दै खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो प्रतीक्षापछि लिग सुरु हुने आशा बनिरहेको समयमा फेरि अनिश्चितता बढ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
“लामो समयको प्रतिक्षापछि ए डिभिजन लिगसँगै घरेलु फुटबल सुचारु हुन्छ भन्ने अपेक्षा नेपाल फुटबल खेलाडी संघले राखेको छ। यदि फेरि पनि विभिन्न कारण देखाइ प्रतियोगिताका कार्यक्रमहरू परिवर्तन वा रोकिएको खण्डमा उत्पन्न हुने सम्पूर्ण अवस्थाको जिम्मेवारी एन्फाले लिनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
संघका अनुसार पछिल्लो समयमा एन्फा नेतृत्वप्रति खेलाडी र समर्थक दुवैको विश्वास कमजोर हुँदै गएको छ। “नेतृत्वका कारण फुटबल माथि समर्थकहरूको विश्वास विस्तारै टुट्दै गएको छ। पछिल्लो कार्यसमितिको कार्यकाल अब एक वर्ष पनि बाँकी छैन, तर यस अवधिमा एक पटक मात्र ए, बी र सी डिभिजन लिग सञ्चालन हुनु खेलाडी र समर्थकमाथि अन्याय हो,” संघले उल्लेख गरेको छ।
संघले घरेलु फुटबलको मेरुदण्ड मानिने ए डिभिजन लिग सञ्चालन गर्न असमर्थ एन्फा नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने पनि जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “लिग गर्न नसक्नेहरूले नेतृत्वमा बसिरहनु नैतिकताले नमिल्ने हो।”
संघका अनुसार पछिल्लो तीन वर्षमा एक सयभन्दा बढी व्यवसायिक खेलाडी रोजगारीका लागि विदेशिन बाध्य भएका छन्, जसको मूल कारण घरेलु फुटबल नचल्नु नै हो। “देशभित्र फुटबल चलायमान बनाउन एन्फा नेतृत्वले विश्वसनीयता दिलाउन सकेन,” संघको भनाइ छ।
विज्ञप्तिमा भदौ २३ र २४ गते समर्थकहरूले एन्फा गेट अगाडि गरेको प्रदर्शनको प्रसङ्ग पनि उठाइएको छ। “त्यो प्रदर्शनले फुटबलमा पनि परिवर्तन आवश्यक छ भन्ने सन्देश दिएको थियो। तर एन्फा नेतृत्वले त्यसपछि पनि क्लबहरूसँगको बैठक रोक्नुका कारण स्पष्ट पारेको छैन,” संघले उल्लेख गरेको छ।
अन्त्यमा खेलाडी संघले एन्फा नेतृत्वलाई गम्भीरतापूर्वक योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दिंदै भनेको छ, “यदि नेतृत्व वास्तवमै गम्भीर छ भने आउने ए डिभिजन लिग कम्तीमा ६ महिना सञ्चालन गर्न सक्ने किसिमको योजना लिएर अघि बढ्नुपर्छ।”
