विराटनगर किंग्सद्वारा ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिताको घोषणा

कोशीका पाँच जिल्लाका यू–२३ खेलाडीबीच प्रतिस्पर्धा, एक खेलाडीलाई एनपीएल खेल्ने मौका

विराटनगर, असोज २४ गते।
विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा युवा र उदयीमान खेलाडीका लागि ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाका यू–२३ टोलीबीच हुने यो प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म विराटनगरस्थित मेची बहुमुखी क्याम्पस मैदानमा हुने भएको हो।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लाका टोलीहरू सहभागी हुनेछन्। खेल ट्वान्टी–२० (T20) ढाँचामा सञ्चालन गरिने जनाइएको छ। आयोजकका अनुसार प्रतियोगिता युवा खेलाडीहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर र व्यावसायिक क्रिकेट यात्राको सुरुवात गर्ने उत्कृष्ट मञ्च हुनेछ।

विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले पत्रकार सम्मेलनमा बताए, “यो प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडीलाई प्लेटफर्म उपलब्ध गराउनु हो। यहाँबाट प्रतिभावान खेलाडीहरूलाई अगाडि ल्याउने र उनीहरूलाई पेशागत क्रिकेटमा अभ्यस्त बनाउने हाम्रो लक्ष्य हो।”

उनका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विराटनगर किंग्सको डेभलपमेन्ट टिममा समावेश गरिनेछ। छानिएका खेलाडीहरूले किंग्स टिमसँगै नियमित अभ्यास, प्रशिक्षण र सल्लाह पाउनेछन्।

त्यसमध्ये उत्कृष्ट एक खेलाडीलाई नेपाल प्रिमियर लिग (NPL) मा विराटनगर किंग्सको प्रतिनिधित्व गर्दै खेलने अवसर प्रदान गरिनेछ। यसबाट खेलाडीहरूमा प्रतिस्पर्धा र प्रेरणा दुवै बढ्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

विराटनगर किंग्सले यसअघि पनि स्थानीय स्तरका खेलाडीलाई व्यावसायिक क्रिकेटमा लैजाने विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। ‘ड्रिम टु प्ले’ प्रतियोगितालाई त्यसकै निरन्तरता स्वरूप हेरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ