
काठमाडौं, असोज २४ गते।
एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गतको बिहीबार साँझ तेस्रो खेलमा नेपाल भियतनामसँग ३–१ को हार बेहोरेको छ। दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको नेपाली टोलीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि अन्त्यसम्म लय कायम राख्न नसक्दा पराजय भोग्नुपर्यो।

मुख्य प्रशिक्षक म्याट रसले यस खेलमा कम्तीमा एक अंक जुटाउने लक्ष्य राखेका थिए। त्यसअनुरूप पहिलो हाफमा नेपालको खेल योजनाबद्ध देखिएको थियो। तर, दोस्रो हाफको सुरुवातसँगै खेलको गति भियतनामतर्फ मोडियो।
खेलको नवौं मिनेटमै भियतनामका तियन लीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर नेपालका सनिश श्रेष्ठले १७औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्काए। पहिलो हाफको अन्त्यतिर नेपालका लकेन लिम्बुले डिबक्स नजिकै फाउल गरेपछि रातो कार्ड पाए र मैदानबाट बाहिरिए। त्यसपछि नेपाल दोस्रो हाफमा १० खेलाडीमा सीमित रह्यो, जसको फाइदा भियतनामले पूरै उठायो।
दोस्रो हाफमा भियतनामले थप दुई गोल गर्न सफल भयो। ६७औं मिनेटमा सुआन मानले गोल गर्दै अग्रता दोब्बर पार्दै भियतनामलाई २–१ अघि बढाए। त्यसको पाँच मिनेटपछि, ७२औं मिनेटमा भान भिले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।
खेलमा भियतनामको बल पोसेसन ७५ प्रतिशत रह्यो। उसले २४ शट प्रहार गर्दै १० टार्गेटमा हानेको थियो। नेपालले भने मात्र दुई शटको अवसर सिर्जना गर्न सक्यो।
यो जितसँगै भियतनामले तीन खेलबाट ६ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा पुगेको छ। नेपाल भने लगातार तेस्रो खेलमा पराजित हुँदै अंकविहीन रहँदै समूहको पुछारमा छ।
समूहकै अर्को खेलमा मलेसियाले लाओसलाई ३–० ले हराउँदै लगातार तेस्रो जित दर्ता गर्यो। तीनै खेल जितेको मलेसिया ९ अंकसहित शीर्ष स्थानमा छ। लाओसको तीन खेलमा ३ अंक छ।
नेपालको अर्को खेल अक्टोबर १४ मा भियतनाममै हुनेछ, जहाँ घरेलु मैदानको रूपमा नै खेल्नुपर्ने चुनौती हुनेछ।
