
काठमाडौं, असोज २१ गते ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले कात्तिक महिनामा दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले फिफा विन्डोअन्तर्गत भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्ने तय गरेको हो।

यसअघि भारतसँग मात्र खेल्ने तयारीमा रहेको नेपाली टोलीले अन्ततः इरानसँग पनि खेल्ने कार्यक्रम तय गरेको छ। तय भएको तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्ण खेल ७ कात्तिक (२४ अक्टोबर) मा इरानसँग खेल्नेछ भने दोस्रो खेल १० कात्तिक (२७ अक्टोबर) मा भारतविरुद्ध हुनेछ। दुवै खेल भारतको शिलङमा आयोजना हुनेछन्।
फिफाको पछिल्लो विश्व वरियतामा भारत ६३औं, इरान ७०औं, र नेपाल ८९औं स्थानमा छन्। यसले नेपालका लागि यी खेलहरू चुनौतीपूर्ण र तयारीका दृष्टिले महत्वपूर्ण हुने देखिन्छ।
एन्फाले हालै मात्र नेपाली महिला टोलीको नयाँ प्रशिक्षकका रूपमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ। उनी नेतृत्वमा नेपाली टोली पहिलोपटक मैदानमा उत्रनेछ।
नेपालले पछिल्लोपटक एएफसी महिला एसियन कप छनोट खेलेयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। करिब एक वर्षपछि हुने यी मैत्रीपूर्ण खेलहरूले टोलीलाई नयाँ प्रशिक्षकसहितको संयोजन परीक्षण गर्न र आगामी प्रतियोगिताहरूको तयारीका लागि राम्रो अवसर दिने अपेक्षा गरिएको छ।
