
काठमाडौं, असोज २१ गते ।
एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम प्रस्थान गरेको छ। टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो। नेपालले छनोटअन्तर्गत भियतनामसँग दुई खेल खेल्नेछ।

तालिका अनुसार नेपालले पहिलो खेल अक्टोबर ९ (२३ असोज) र दोस्रो खेल अक्टोबर १४ (२८ असोज) मा भियतनामसँग खेल्नेछ। दुवै खेल भियतनामको बिन दुङ रंगशालामा हुने एन्फाले जनाएको छ।
यसअघि होम एन्ड अवे प्रणालीमा खेल हुने भनिए पनि नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपयुक्त मैदान अभाव भएकाले दुवै खेल भियतनामकै मैदानमा सरेका हुन्।
एएफसी एसियन कप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गरेको थियो।

टोलीका मुख्य प्रशिक्षक म्याट रसलले कप्तान किरणकुमार लिम्बूको नेतृत्वमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए।
भियतनामविरुद्धको खेल नेपाली टोलीका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। पछिल्ला केही महिनायता विभिन्न मैत्रीपूर्ण खेलबाट नयाँ संयोजनमा तयार भएको टोलीले यसपटक राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
एन्फाका अधिकारीहरूले छनोट खेललाई आगामी प्रतियोगिताहरूको तयारीको महत्वपूर्ण चरणका रूपमा लिएका छन्। खेलपूर्व नेपाली टोलीले भियतनाममै छोटो प्रशिक्षण शिविरसमेत सञ्चालन गर्ने बताइएको छ।
