नेपालले भियतनामविरुद्ध खेल्ने अन्तिम टोली घोषणा, कप्तान किरणसहित २३ खेलाडीको नाम सार्वजनिक

काठमाडौं, असोज १९ गते ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनामविरुद्ध आगामी मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय टोलीको अन्तिम २३ सदस्यीय सूची सार्वजनिक गरेको छ। आइतबार प्रमुख प्रशिक्षक म्याट रसले खेलाडीहरूको नामावली सार्वजनिक गरेका हुन्।

घोषित टिममा राष्ट्रिय टोलीका नियमित कप्तान किरण चेम्जोङ लिम्बूसहित अनुभवी र युवा खेलाडीहरूको संयोजन देखिएको छ। टोलीमा समेटिएका अन्य प्रमुख खेलाडीहरूमा अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेनजन, र जिलेप्सीजंग कार्की रहेका छन्।

त्यस्तैगरी टोलीमा कृतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डांगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङले पनि स्थान पाएका छन्।

नेपालले भियतनामसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका तय भएको छ। दुबै खेल भियतनामकै घरेलु मैदानमा आयोजना हुनेछ। पहिलो खेल असोज २३ गते (अक्टोबर ९ तारिख) हुनेछ भने दोस्रो खेल असोज २८ गते (अक्टोबर १४ तारिख) का लागि तय गरिएको छ।

यी मैत्रीपूर्ण खेलहरू आगामी विश्वकप छनोटलगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारीका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। प्रशिक्षक रसले युवा खेलाडीहरूलाई मौका दिँदै टोलीमा ताजगी ल्याउने प्रयास गरेका छन्। नेपाली टिमको तयारी सशक्त भएको जनाइएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ