
काठमाडौं, असोज १९ गते — आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक क्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गतको वार्म अप खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ। गएराति सम्पन्न खेलमा नेपाली क्रिकेट टोलीले ओमानलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको औपचारिक खेलहरूका लागि आत्मविश्वास भरिएको संकेत दिएको छ।

ओमानले दिएको १११ रनको लक्ष्यलाई नेपालले १७ ओभरमै ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्यो। नेपालको जितमा ओपनिङ ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६१ रन बनाए। उनको संयमित र आक्रामक ब्याटिङले नेपाललाई सहज जितको आधार तयार गरिदियो। कप्तान रोहितकुमार पौडेलले पनि महत्वपूर्ण योगदान दिंदै २५ रनको पारी खेले। ओपनर कुशल भुर्तेलले ११ रन बनाए भने अन्त्यतिर कुशल मल्ल १० रनमा अविजित रहे।
बलिङतर्फ ओमानका आमेर कलिमले २ विकेट लिए भने फेसल शाहले १ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो। ओमानका लागि आर्यन विष्टले सर्वाधिक २३ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन्। नेपाली बलरहरूले ओमानको ब्याटिङ लाइनअपलाई दवावमा राख्न सफल भए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी बलिङतर्फ सबैभन्दा प्रभावशाली रहे। उनले मात्र ३ ओभरमा १० रन खर्चिएर ३ महत्वपूर्ण विकेट लिए। यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने नन्दन यादव र कुशल मल्लले १–१ विकेट लिए।
नेपालले यो जितसँगै विश्वकप छनोटका लागि आफू बलियो प्रतिस्पर्धी रहेको सन्देश दिएको छ। टोलीले आफ्नो दोस्रो वार्म अप खेल कतारसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली क्रिकेट समर्थकहरूका लागि यो जित सुखद संकेत हो, विशेषतः प्रमुख प्रतियोगिताअघि टोलीको मनोबल उच्च राख्नका लागि।
