
काठमाडौं, असोज १० गते।
रोबर्ट लेवनडोस्की र रोनाल्ड आराहोउको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनी ला लिगामा बिहीबार रियल ओभिएडोमाथि पुनरागमन ३–१ को जित हात पारेको छ।

खेलको सुरुवातमै ओभिएडोले अग्रता लिन सफल भएको थियो। अल्बर्टो रेनाले गरेको गोलमार्फत घरेलु टोलीले बार्सिलोनामाथि दबाब सिर्जना गरेको हो। तर त्यसपछि पाहुना टोली बार्सिलोनाले खेलमा पुनः फर्कने क्षमता देखायो।
बार्सिलोनाका लागि पहिलो गोल एरिक गार्सियाले गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि पोलिस स्ट्राइकर रोबर्ट लेवनडोस्कीले उत्कृष्ट फिनिशिङ गर्दै टोलीलाई अग्रता दिलाए भने अन्तिमतिर रोनाल्ड आराहोउले थप गोल गर्दै जित सुनिश्चित गरे।
यो जितसँगै बार्सिलोनाले छैटौं खेलमा १६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले समान खेलबाट १८ अंक जोडेको छ।
त्यसैगरी, ओभिएडो भने तीन अंकमै सीमित रहँदै रेलिगेसन क्षेत्रमा रहेको छ। बिहीबारकै अर्को खेलमा ओसासुना र एल्चेबीचको भिडन्त १–१ को बराबरीमा सकिएको थियो।
