पाकिस्तान ११ रनले बंगलादेशलाई हराउँदै एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं, असोज १० गते ।
एसिया कप क्रिकेटको बहुप्रतिक्षित फाइनलमा पाकिस्तान प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न सुपर फोर चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ११ रनले पराजित गर्दै उपाधि भिडन्तमा भारतसँग भेट हुने पक्का गरेको हो ।

अब उपाधिका लागि भारत र पाकिस्तान तेस्रो पटक आमनेसामने हुने भएका छन् । यसअघि समूह चरण र सुपर फोर दुवै खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो । यही कारण आगामी फाइनल पाकिस्तानका लागि उपाधि जित्ने मात्र नभई अघिल्ला हारको बदला चुकाउने ठूलो अवसर पनि हुने छ ।

पाकिस्तानको संघर्षपूर्ण ब्याटिङ

ढाकामा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन जोड्यो । टोलीका लागि मुहम्मद हारिसले सर्वाधिक ३१ रन योगदान दिए भने मोहम्मद नवाजले २५ रनको उपयोगी इनिङ खेले । सलमान आघा र शाहीन शाह अफ्रिदीले समान १९–१९ रन जोडे भने फहीम अशरफ १४ रनमा अविजित रहे । ओपनर फखार जमान १३ रनमै सीमित भए ।

बंगलादेशका बलरमध्ये तास्किन अहमदले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका थिए । यस्तै मेहदी हसन र रिशाद होसेनले समान २–२ विकेट हात पारे भने मुस्तफिजुर रहमानले १ विकेट लिएका थिए ।

बंगलादेशको लक्ष्य पछ्याउने प्रयास

१३६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको बंगलादेश २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १२४ रनमै सिमित रह्यो । टोलीका लागि शमिम होसेनले सर्वाधिक ३० रन बनाए । त्यसपछि सेफ हसन १८ रनमा आउट भए भने नुरुल हसन सोहन र रिशाद होसेनले समान १६–१६ रन जोडे । मेहदी हसनले ११ तथा तनजिम साकिबले १० रन थपे ।

पाकिस्तानी बलरहरूले सुरुवातदेखि नै दबाब सिर्जना गरेका थिए । शाहीन शाह अफ्रिदीले ४ ओभरमा मात्र १७ रन खर्चेर ३ विकेट लिँदै निर्णायक भूमिका खेले । हारिस राउफले पनि ३३ रनमा ३ विकेट लिए । त्यस्तै सायम अयुबले २ तथा मोहम्मद नवाजले १ विकेट लिए ।

फाइनलमा भारत र पाकिस्तान

यस जितसँगै पाकिस्तानले भारतसँगको फाइनल मञ्च तयार पारेको छ । यसअघि भएको दुवै खेलमा भारत विजयी भए पनि, उपाधि भिडन्तमा पाकिस्तान पूरा शक्तिसहित मैदानमा उत्रिने अपेक्षा गरिएको छ ।

क्रिकेट प्रेमीका लागि भारत र पाकिस्तानबीचको फाइनल केवल उपाधि जित्ने लडाइँ मात्र नभई भावनात्मक टकराव पनि हुनेछ । उपाधि हात पार्न दुवै टोली कुनै कसर बाँकी नराख्ने निश्चित छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ