ब्लिट्ज चेसमा नेपाली खेलाडी पुरुषोत्तम सिलवालको चम्किलो प्रदर्शन, रसियन ग्रान्ड मास्टर पराजित

काठमाडौँ, असोज ६ गते ।
रुसको बुद्धिस्ट गणराज्य रिपब्लिक अफ क्याल्मिकिया को राजधानी एलिस्तामा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रबीचको ब्लिट्ज चेस प्रतियोगितामा नेपाली युवा खेलाडी क्यान्डिडेट मास्टर (CM) पुरुषोत्तम सिलवालले उल्लेखनीय सफलता हासिल गर्दै नेपाललाई गौरवान्वित बनाएका छन्।

११ चरणमा सम्पन्न उक्त प्रतियोगितामा २२२४ फिडे रेटिङ्ग भएका सिलवालले कुल ६.५ अंक हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिताको नवौं चरणमा उनले सेतो गोटीबाट खेल्दै २६१३ रेटेड रसियन ग्रान्ड मास्टर साइडाइपोभ झम्सारनलाई २८औँ चालमा नाइट H4 चालमार्फत पराजित गर्दै आफ्नो क्षमताको प्रमाण दिएका हुन्।

ब्लिट्ज चेसको तीव्र गतिका बीच पाँच मिनेट तीन सेकेन्डको इन्क्रिमेन्ट समयसहितको छरितो खेलमा सिलवालले फिलिपिन्सका इन्टरनेशनल मास्टर नाभा रोडेरिकसँग प्रतिस्पर्धात्मक रूपमा बराबरी खेल्दै ½ अंक जोड्न सफल भए।

यसअघि सम्पन्न र्‍यापिड विधाको प्रतिस्पर्धामा पनि उनले इन्टरनेशनल मास्टर तथा विमेन ग्रान्ड मास्टर स्तरका खेलाडीहरूलाई पराजित गर्दै निरन्तर उच्च प्रदर्शन कायम राखेका थिए।

प्रतियोगितामा सहभागी नेपाली टोलीबाट शैलेन्द्र न्यौपाने र सिन्दिरा जोशीले समान ५–५ अंक जोडेका छन्। यसरी टोलीले ब्लिट्ज विधामा कुल १६.५ अंक बटुल्दै समग्र तालिकामा छैटौँ स्थानमा रहन सफल भयो। र्‍यापिड स्पर्धामा पनि नेपालले छैटौँ स्थान ओगटेको थियो।

यस ऐतिहासिक प्रतिस्पर्धाले नेपाली बुद्धिचाल खेलाडीहरूको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो उपस्थिति र सम्भावनालाई स्पष्ट रूपले देखाएको छ। पुरुषोत्तम सिलवालको यस्तो उपलब्धि नेपाली चेसको लागि मात्र होइन, सम्पूर्ण खेलकुद क्षेत्रको लागि प्रेरणादायी बन्न पुगेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ