
काठमाडौं, असोज ५ गते ।
पाल्पा – नेपाली खेल पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याएका नेपाल खेलकुद पत्रकार मञ्चको समन्वय शाखा, पाल्पाका संस्थापक अध्यक्ष मनोरञ्जन शर्माको ५३ वर्षको उमेरमा निधन भएको छ। केही वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आएका शर्माको उपचारका क्रममा शनिबार बेलुकी भैरहवा सिटी अस्पतालमा निधन भएको हो।

पाल्पाबाट खेल पत्रकारिताको यात्रा सुरू गरेका शर्मा पछिल्लो समय भैरहवामा सक्रिय रहँदै आएका थिए। तीन दशकभन्दा लामो समय खेल पत्रकारितामा बिताएका शर्माले देशका अधिकांश राष्ट्रिय खेलकुद प्रतियोगिता कभर गर्नुका साथै एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग) लगायतका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउँदै महत्वपूर्ण समाचार सम्प्रेषण गरेका थिए। उनी आफ्नो व्यावसायिक जीवनमा खेल पत्रकारितालाई देशभर परिचित बनाउन अग्रणी व्यक्तित्वका रूपमा चिनिएका थिए।
शर्माले पाल्पामा खेल पत्रकारिताको सुरुवात मात्र गरेनन्, नयाँ पुस्तालाई पनि यस क्षेत्रमा लाग्न प्रेरित गर्दै संस्थागत रूपमा खेल पत्रकारिताको जग बसाल्ने कार्य गरे। उनको पत्रकारितामार्फत फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स लगायतका खेलका गतिविधि नियमित रूपमा सञ्चारमाध्यममा प्रवाह भइरहे।
उनी सामाजिक र सांस्कृतिक गतिविधिहरूमा समेत सक्रिय थिए। सहकर्मी र साथीहरूको अनुसार, विनम्र स्वभाव, सरल जीवनशैली र खेलकुदमाथि गहिरो लगावका कारण उनी सबैको प्रिय बनेका थिए।
शर्मा आफ्नो पारिवारिक जीवनमा पनि समर्पित थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। उनीहरूको लागि मात्र नभई समग्र नेपाली खेल पत्रकारिता समुदायका लागि उनको निधन अपूरणीय क्षति भएको खेलकुद पत्रकार मञ्चले जनाएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ति जारी गर्दै शर्माप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। मञ्चले उनका योगदानलाई स्मरण गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ भने शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
उनको अन्तिम संस्कार आइतवार बिहान पाल्पाको रामदीमा सम्पन्न गरिएको छ। अन्तिम संस्कारमा पत्रकार, खेलकर्मी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो।
मनोरञ्जन शर्माले छाडेको योगदान र स्मृतिले नेपाली खेल पत्रकारिता समुदायलाई अझ अघि बढ्ने प्रेरणा दिने विश्वास गरिएको छ।