
काठमाडौँ,असोज ५ गते।
काठमाडौँ । नेपाल बुद्धिचाल महासंघमाथि गम्भीर आरोप लगाउँदै चेस् खेलाडीहरुले आपत्ति जनाएका छन्। खेलाडीहरुले पारदर्शिता, उत्तरदायित्व र निष्पक्षतामा प्रश्न उठाउँदै महासंघले निरन्तर गर्दै आएको अनियमितता, विभेद र अपारदर्शिताबिरुद्ध पत्रकार सम्मेलनमार्फत आक्रोश प्रकट गरेका हुन्।
खेलाडीहरुको भनाइमा महासंघले शक्ति दुरुपयोग, मनपरी निर्णय, खेलाडीको हकहित बेवास्ता गर्दै आएको छ। यसरी निरन्तर अनियमितता भइरहँदा अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको सहभागिता कमजोर हुने खतरा बढेको उनीहरुको चिन्ता छ।
उनले भने, “नेपालमा बुद्धिचालको विकास सम्भावना उच्च भए पनि महासंघकै कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गर्न नसक्ने अवस्था सिर्जना भएको छ। खेलाडीका अधिकार हनन हुनु र विभाजनकारी प्रवृत्तिले खेल क्षेत्रलाई नै क्षति पुर्याइरहेको छ।”

पारदर्शिता र आर्थिक प्रतिवेदनबारे प्रश्न
नेपालको प्रचलित कानुनअनुसार प्रत्येक संघ–संस्थाले वार्षिक प्रतिवेदन तथा आर्थिंक विवरण पेश गर्नुपर्ने भए पनि महासंघले अहिलेसम्म त्यो परम्परा पूरा नगरेको खेलाडीहरुको आरोप छ। महासंघले आन्तरिक आम्दानी, सहयोग र पुरस्कार रकम पारदर्शी ढंगले सार्वजनिक नगरेको भन्दै उनीहरुले कडा आपत्ति जनाए।
महिला खेलाडीको अवसर खुम्चिएको आरोप
महिला खेलाडीहरुको हकहितमा समेत महासंघ संवेदनशील नभएको उनीहरुको भनाइ छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला खेलाडीलाई प्राथमिकता नदिइएको, अवसर सधैं पुरुष खेलाडीमा मात्र सीमित गरिएको भन्दै यसबारे तुरुन्त सुधार गर्न माग गरिएको छ।
ओलम्पियाडमा सहभागिता नहुँदा ठूलो क्षति
गत वर्ष हुने भएको बुद्धिचाल ओलम्पियाडमा नेपाल सहभागी हुन नसक्नु महासंघकै कमजोरी भएको खेलाडीहरुको दाबी छ। यसले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा ठूलो नोक्सानी पुर्याएको उनीहरुको भनाइ छ।
तत्काल सुधारको माग
खेलाडीहरुले महासंघभित्र तत्काल छानबिन समिति गठन गरी विगतका अनियमितताको छानबिन गर्नुपर्ने, आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने, महिला खेलाडीलाई समान अवसर दिनुपर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।

