अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली रुस प्रस्थान

काठमाडौं, असोज २ गते।
पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रहरूबीच हुने चेस प्रतियोगितामा सहभागी हुन नेपाल बुद्धिचाल खेल टोली होजो बुधबार बिहान रूसको रिपब्लिक अफ काल्मिकिया, एलिस्ता प्रस्थान गरेको छ। ‘स्पिरिट अफ धर्म’ भन्ने नारासहित यही सेप्टेम्बर १७ देखि २३ तारिखसम्म आयोजना हुने प्रतियोगितामा बुद्ध जन्मभूमि नेपाललाई पनि विशेष आमन्त्रण गरिएको हो ।

यो प्रतियोगिता रसियाको बौद्धिष्ट गणराज्य काल्मिकियाको सरकार, काल्मिक चेस फेडेरेशन तथा मस्को क्षेत्रीय चेस फेडेरेशनको सहकार्यमा आयोजना गरिएको हो। प्रतियोगिता विश्व चेस महासंघ (FIDE) का नियमअनुसार ‘र्‍यापिड’ (२५ मिनेट, १० सेकेन्ड इनक्रिमेन्ट) र ‘ब्लिट्ज’ (५ मिनेट, ३ सेकेन्ड इनक्रिमेन्ट) विधामा समूहगत ११ चरणसम्म सञ्चालन हुने तय भएको छ।

नेपाली टोलीको संरचना

नेपाल बुद्धिचाल महासङ्घको सचिवालय बैठकले ३ सदस्यीय टोली चयन गरेको छ।

व्यावसायिक खेलाडी : २१९८ रेटेड सिएमए पुरुषोत्तम सिलवाल

महिला खेलाडी : १६३९ रेटेड सिन्दिरा जोशी

एमेच्योर खेलाडी : १८९० रेटेड हेराकाजी महर्जन

वैकल्पिक खेलाडी : १९४३ रेटेड शैलेन्द्र न्यौपाने

यसपटक आयोजकले एमेच्योर खेलाडीका रूपमा प्रत्येक राष्ट्रिय संघका अध्यक्षलाई समेत सहभागी हुन आमन्त्रण गरेका थिए। सोही अवसरलाई सदुपयोग गर्दै नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले रसिया चेस फेडेरेसनसँग दुई देशीय सहयोग सम्झौता गर्ने तयारी समेत गरेका छन्।

प्रतियोगिताको उद्देश्य

प्रतियोगिताले बौद्ध देशहरूबीच खेल र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने, चेसलाई बौद्धिक तथा सांस्कृतिक फोरममार्फत लोकप्रिय बनाउने, खेलाडीहरूको स्तर उकास्ने र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

शीर्ष खेलाडीहरूको सहभागिता

यस प्रतियोगितामा हंगेरीका २५५० रेटेड ग्रान्डमास्टर सानान स्जुगीरोभ, रसियाका २५०१ रेटेड ग्रान्डमास्टर झाम्सारन साइदिपोभ, फिलिपिन्सका २४२३ रेटेड इन्टरनेशनल मास्टर रोडरिक नावा लगायत विभिन्न देशका टाइटल होल्डर शीर्ष खेलाडीको समेत सहभागिता रहनेछ। यसले प्रतियोगितालाई उच्चस्तरीय प्रतिस्पर्धात्मक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

नेपालका लागि अवसर

प्रतियोगितामा प्रस्थान गर्नुअघि नेपाल चेस फेडेरेशनका महासचिव धर्मबहादुर लामाले नेपाली टोलीलाई विदाइ गर्दै भने,
“यो सहभागिता नेपालका लागि गौरवपूर्ण अवसर हो। यसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र होइन, खेलमार्फत सांस्कृतिक मित्रता विस्तार गर्ने महत्वपूर्ण प्लेटफर्म उपलब्ध गराउनेछ।”

यो प्रतियोगिता खेल कूटनीतिको माध्यमबाट नेपालजस्ता राष्ट्रलाई विश्वस्तरमा चिनाउने, चेसको बौद्धिक तथा सांस्कृतिक मूल्यलाई उजागर गर्ने र खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ।

प्रवक्ता : राजु ताम्राकारले खेल डायरी डटकमलाई बताए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ