एनएसपिएल को ट्रायल सम्पन्न

काठमाडौं, असोज २ गते ।

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको सबैभन्दा ठूलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) को ट्रायल सम्पन्न भएको छ।

देशभरका विभिन्न स्थानमा चलेका छनोट प्रक्रियामार्फत अन्ततः मंगलबार काठमाडौंको महालक्ष्मी स्पोर्ट्स हबमा अन्तिम ट्रायल सम्पन्न गरिएको हो। करिब १५०० भन्दा बढी खेलाडी सहभागी भएका ट्रायलबाट २५० जना खेलाडीलाई अक्सनका लागि छनोट गरिने आयोजकले जनाएको छ।

सात टोलीको सहभागिता रहने यस प्रतियोगितामा कुल २५ खेल खेलाइनेछ। लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ भने शीर्ष चार टोलीले सेमिफाइनलमा प्रवेश पाउनेछन्। विजेता टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ।

प्रतियोगिताका अध्यक्ष ज्ञानी सिंहले यो प्रतियोगिता टेनिस बल क्रिकेट खेलाडीलाई आफ्नो क्षमता देखाउने महत्वपूर्ण प्लेटफर्म हुने बताए। उनले भने, “यो लिगले उदीयमान प्रतिभाका लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गर्नेछ। साथै, नेपाली क्रिकेटलाई ग्रासरुट स्तरबाटै विकास गर्ने उद्देश्य राखिएको छ।”

यसैबीच, प्रतियोगिता हाललाई स्थगित गरिएको छ। प्रारम्भिक योजना अनुसार असोज २१ देखि असोज ३१ गतेसम्म हुने तय गरिएको भए पनि भदौ २३ र २४ गतेका जेनजी आन्दोलन र हाल देश शोकमा डुबेको अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ। नयाँ मिति छिट्टै सार्वजनिक गरिने बताइएको छ।

आयोजकको विश्वास छ, यस प्रतियोगिताले नेपालमा टेनिस बल क्रिकेटलाई अझ लोकप्रिय बनाउनका साथै ग्रासरुट स्तरको प्रतिभा उदाउने मार्ग प्रशस्त गर्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ