
काठमाडौं,असोज २ गते।
काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन्। एन्फाले एएफसी फुटसल कप २०२६ मा नेपाललाई सहभागी नगराउने निर्णय गरेपछि एएफसीले जरिवाना तथा कारबाही गरेको, तर त्यसबारे आफूलाई आधिकारिक रूपमा जानकारी नदिइएको भन्दै उनले असन्तुष्टि जाहेर गरेका छन्।
महर्जनले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, “मिडियामार्फत मात्र एन्फा जरिवानामा परेको कुरा थाहा पाउनु परेको छ। फुटसल विभाग प्रमुखको जिम्मेवारीमा रहेर सबै काम समयमै सचिवालयमा बुझाउँदा पनि बजेट नदिएको कारण अन्तर्राष्ट्रिय प्रतियोगिताबाट नाम फिर्ता लिनुपरेको हो। यस्तो गैरजिम्मेवार कार्यशैलीमा म रहिरहन सक्दिनँ।”
सचिवालयको लापरबाहीप्रति आक्रोश
उनले थप भनेका छन्, फुटसल विभाग प्रमुखका हैसियतमा सो प्रतियोगिता सम्बन्धी सबै आवश्यक कागजात, योजना र तयारी सचिवालयमा बुझाइए पनि एन्फाले फुटसलका लागि कुनै बजेट विनियोजन गरेन। फलस्वरूप अन्तिम समयमा आएर नेपालले नाम फिर्ता लिन बाध्य भएको थियो।
महर्जनले सचिवालयको यस किसिमको व्यवहार र उदासीनतालाई गैरजिम्मेवार कदम भन्दै आपत्ति जनाएका छन्।
एएफसीको कारबाही
नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेपछि एएफसीको अनुशासन तथा आचारसंहिता कमिटीले नेपाललाई कारबाही गरेको हो।
शुरुवाती चरणमा एन्फाले प्रतियोगितामा सहभागी हुने सहमति जनाउँदै नाम दर्ता गराएको थियो। तर प्रतियोगिता सुरु हुन १०६ दिन बाँकी छँदै नाम फिर्ता लिन खोजेपछि एएफसीले नियमअनुसार कडा निर्णय गरेको हो।
अगस्ट २१ मा गरिएको उक्त निर्णयअनुसार, नेपाललाई १० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। साथै अर्को संस्करणको छनोट प्रतियोगितामा समेत सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ।
राजीनामा आजैदेखि लागू
एएफसीको सो निर्णय र सचिवालयको लापरबाहीलाई कारण देखाउँदै निर्देशक महर्जनले आजैदेखि लागू हुने गरी राजीनामा दिएको बताएका छन्। उनले भनेका छन्, “यस्तो गैरजिम्मेवार सचिवालय अन्तर्गत पदमा रहेर काम गर्न म तयार छैन, त्यसैले तत्काल प्रभावबाट राजीनामा दिएको छु।”
यस घटनाले एन्फा भित्रको फुटसल विभागप्रति देखाइएको बेवास्ता र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिमामा परेको असरप्रति विभिन्न पक्षले प्रश्न उठाएका छन्।