
काठमाडौं, भदौ — नेपालमा हुन लागेको नेपाल र बंगलादेशबीचको रग्बी सिरिज अनिश्चितकालका लागि स्थगित गरिएको छ। नेपाल रग्बी संघले सोमबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत दुई देशबीच तय भएको मैत्रीपूर्ण सिरिज तत्कालका लागि स्थगित गर्ने निर्णय सार्वजनिक गरेको हो।
नेपालमा हालै देखिएका पछिल्ला घटनाक्रमका कारण रग्बी संघले सिरिज स्थगित गर्नुपर्ने अवस्था आएको जनाएको छ। संघका अनुसार खेलका सबै तयारी पूरा भइसकेको भए पनि सुरक्षा र व्यवस्थापन पक्षलाई ध्यानमा राखेर यो निर्णय लिनु परेको हो।
यसअघि दशरथ रंगशालामा भदौ ३० र ३१ गते दुईवटा खेल आयोजना गर्ने तयारी गरिएको थियो। नेपाल र बंगलादेशबीचको यो सिरिज नेपाली रग्बीको अन्तर्राष्ट्रिय अनुभव बढाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको थियो। तर, संघले अहिले मिति तोक्ने अवस्था नरहेको र नेपालमा स्थिति सामान्य भएपछि नयाँ मिति तय गरेर सिरिज पुनः आयोजना गर्ने जनाएको छ।
रग्बी संघले यस घटनाले नेपाली खेलकुद क्षेत्रमा पनि प्रत्यक्ष असर पारेको भन्दै दुबै देशका खेलाडी र दर्शकहरूलाई संयमित रहन आग्रह गरेको छ। संघले नेपाल रग्बीलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन यस्ता अवसरहरूलाई प्राथमिकताका साथ पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।