
काठमाण्डाै,भदौ ३० गते।
काठमाण्डाै, — पारा एथलेटिक्स संघ नेपाल (Para Athletics Association Nepal) र नेपालभरीका अपाङ्गता भएका अधिकारयुक्त व्यक्तिहरु लगाएत को आयोजनामा यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा भ्रष्टाचार र वेतिथि विरुद्धको आन्दोलनमा शहिद प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले दीप प्रज्वलन कार्यक्रम हिजो आईतबार साँझ ललितपुर स्थित भनिमण्ड्लमा सफलतापूर्वक सम्पन्न भएको छ।

शान्तिपूर्ण आन्दोलनमा निर्मम दमन
जेन जी (Zen Z) समूहको नेतृत्वमा भइसकेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको निर्मम दमनका कारण ३७ भन्दा बढी विद्यार्थीले ज्यान गुमाएका छन्। उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध तुल्याएको र अव आऊने जेनजी पुस्ताले हामीले भोगेको शहिदहरुको श्रद्धाञ्जलि अर्पण गर्नु नपरोस साथै नयाँ प्रधानमन्त्रीले देशप्रति को घट्नालाई लिएर राम्रो काम गर्न पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ शिवाकोटीले बताउनु भयो ।

यसै सन्दर्भमा आयोजित कार्यक्रममा दिवंगत आत्माहरूप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै सहभागीहरूले शान्तिपूर्ण आन्दोलनलाई लोकतान्त्रिक अधिकारको प्रतीक भन्दै सहिद व्यर्थ ज्यान नदिने प्रतिवद्धता व्यक्त गरे।
दीप प्रज्वलनमार्फत ऐक्यबद्धता
ललितपुरको भनिमण्डलमा आयोजित कार्यक्रममा पारा खेलकुदसँग आवद्ध संघ–संस्था,कार्यकारी निर्देशक–विजता लुईटेल अधिकारी, सुन्दरढोका सेवा समाज, खेलाडी, शुभेच्छुक तथा सर्वसाधारणको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो। दीप प्रज्वलनमार्फत सहिद प्राप्त युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै भ्रष्टाचार विरुद्धको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइयो।

पारा एथलेटिक्स संघको सन्देश
संघका पदाधिकारीहरूले कार्यक्रममार्फत “देशमा व्याप्त चरम भ्रष्टाचार र वेतिथिपूर्ण शासन व्यवस्थाविरुद्ध लड्दा शहिद प्राप्त युवाहरूलाई हामी सदैव सम्झिरहनेछौं। उनीहरूको बलिदानले देशलाई नयाँ दिशा दिनेछ,” भन्ने सन्देश दिएका थिए। साथै आन्दोलनमा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि व्यक्त गरिएको थियो।
